म्याराडोनाको विरासतपछि इंग्ल्यान्डविरुद्ध मेस्सीको चुनौती

हिमाल प्रेस २९ असार २०८३ ११:३८ | Monday, July 13, 2026
14
SHARES
म्याराडोनाको विरासतपछि इंग्ल्यान्डविरुद्ध मेस्सीको चुनौती

फुटबलका महान् खेलाडी लियोनेल मेस्सीले आफ्नो करिअरमा धेरैजसो उपलब्धि हासिल गरिसकेका छन्। तर बुधबार बेलायत समयअनुसार राति ८ बजे अमेरिकाको एटलान्टामा हुने अर्जेन्टिना र इंग्ल्यान्डको विश्वकप सेमिफाइनलले उनलाई नयाँ अनुभव दिनेछ।

आठ पटकका बालोन डी’ओर विजेता मेस्सीले अर्जेन्टिनाका लागि २०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्दै १२५ गोल गरिसकेका छन्। तर अचम्मको कुरा उनले अहिलेसम्म इंग्ल्यान्डविरुद्ध एकपटक पनि खेल्ने अवसर पाएका छैनन्।

स्विट्जरल्यान्डसँगको क्वार्टरफाइनलमा अर्जेन्टिना दबाबमा परेपछि मेस्सीको इंग्ल्यान्डसँगको सम्भावित भेट टर्ने हो कि भन्ने आशंका गरिएको थियो। तर अतिरिक्त समयमा अर्जेन्टिनाले ३-१ को जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

त्यो खेलमा मेस्सी यस प्रतियोगितामा पहिलो पटक गोल गर्नबाट रोकिए। तर आठ गोलसहित उनी फ्रान्सका किलियन एम्बाप्पेसँग संयुक्त रूपमा गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्। उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता पनि हुन्।

‘मेस्सीलाई रोक्नु असम्भवजस्तै’

बीबीसीका फुटबल विश्लेषक मिका रिचर्ड्सका अनुसार इंग्ल्यान्डका खेलाडीहरू अर्जेन्टिनाभन्दा शारीरिक रूपमा बलिया र तीव्र गतिका हुन सक्छन्। तर मेस्सीजस्तो असाधारण प्रतिभाले खेलको नतिजा पलभरमै बदल्न सक्छ। उनले भने,‘अर्जेन्टिनाका सबै खेलाडी मेस्सीकै लागि खेल्छन्। त्यसैले यो खेल हेर्न सबै उत्साहित हुनुपर्छ।’

रिचर्ड्सका अनुसार मेस्सीलाई मार्क गर्नु निकै कठिन हुन्छ। ‘उनी धेरै दौडिँदैनन्, रक्षामा पनि फर्किँदैनन्। तर विपक्षीले कल्पना नगरेका साना खाली ठाउँमा पुगेर सही समयमा खेलमा प्रभाव पार्छन्। उनको प्राविधिक क्षमता, मैदान बुझ्ने क्षमता र निर्णय गर्ने शैली असाधारण छ’, उनले भने,‘जुड बेलिङ्घममा जस्तै मेस्सीसँग पनि व्यक्तित्व र प्रभावशाली उपस्थिति छ। वास्तवमा, विश्व फुटबलमा मेस्सीको जस्तो औरा अरू कसैको छैन।’

इंग्ल्यान्डले कत्तिको डराउनुपर्छ?

बीबीसी रेडियो-५ लाइभका विश्लेषक क्रिस सटनका अनुसार वर्तमान अर्जेन्टिना विगतका केही महान् टोलीजस्तो बलियो नभए पनि जित निकाल्ने कला उससँग अझै कायम छ। उनले भने,‘इंग्ल्यान्डका प्रशिक्षक थोमस टुखेल र खेलाडीहरू अर्जेन्टिनासँग खेल्न उत्साहित हुनेछन्। यो अर्जेन्टिना अघिल्ला संस्करणहरूजस्तो उत्कृष्ट टोली होइन, तर जित निकाल्ने उपाय भने उसले सधैं फेला पार्छ।’

‘मेस्सीले खेलको निर्णायक क्षण बदल्न सक्छन्’

पूर्व इङ्लिस कप्तान वेन रुनीका अनुसार मेस्सी रक्षात्मक रूपमा धेरै योगदान नगरे पनि खेलको निर्णायक क्षणमा उनको गुणस्तरले नतिजा बदल्न सक्छ। रुनीले भने,‘रक्षामा उनी अर्जेन्टिनाका लागि केही कमजोर पक्ष हुन सक्छन्, किनभने उनी पछाडि फर्केर दौडिँदैनन्। तर खेलको महत्त्वपूर्ण क्षणमा उनले गर्ने निर्णय र सिर्जना गर्ने अवसर नै उनको सबैभन्दा ठूलो शक्ति हो।’ उनका अनुसार मेस्सीलाई रोक्न खेलाडीहरूबीच निरन्तर सञ्चार, एकाग्रता र सही पोजिसनिङ आवश्यक हुन्छ।

अर्जेन्टिनाले चाहेको सेमिफाइनल

दक्षिण अमेरिकी फुटबल विशेषज्ञ टिम विकरीका अनुसार अर्जेन्टिनाका समर्थकले सबैभन्दा बढी प्रतिद्वन्द्वी मान्ने टोली इंग्ल्यान्ड भएकाले यो सेमिफाइनल उनीहरूले चाहेकै खेल हो। उनले भने,दुई सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेर पनि मेस्सीले इङ्ल्यान्डविरुद्ध नखेली अन्तर्राष्ट्रिय करिअर समाप्त गर्नु उचित हुने थिएन।’

उनका अनुसार स्विट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिनी समर्थकहरूले ‘जसले उफ्रँदैन, ऊ इङ्लिस हो’ भन्ने गीत गाएका थिए। ‘बुधबार यस्तो नाराबाजी अझ धेरै सुनिनेछ,’ उनले भने।

दुई राष्ट्रबीचको ऐतिहासिक प्रतिस्पर्धा

इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा अन्तर्राष्ट्रिय फुटबलकै सबैभन्दा तीव्र प्रतिद्वन्द्वितामध्ये एक मानिन्छ। सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा डिएगो म्याराडोनाले गरेको चर्चित ‘ह्यान्ड अफ गड’ गोलदेखि सन् १९९८ मा डेभिड बेकह्यामले रातो कार्ड पाएको घटनासम्म यी दुई टोलीबीचका खेलहरू सधैं चर्चामा रहे। तर यसपटकको भेट झण्डै २१ वर्षपछि हुन लागेको हो।

मेस्सी किन कहिल्यै इङ्ल्यान्डविरुद्ध खेलेनन्?

मेस्सीले सन् २००५ मा १८ वर्षको उमेरमा अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। तर त्यही वर्ष जेनेभामा भएको इंग्ल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलमा उनी उपस्थित थिएनन्। कारण थियो- हंगेरीविरुद्धको डेब्यु खेलमा मैदान प्रवेश गरेको केवल ३० सेकेन्डमै रातो कार्ड पाउनु। विल्मोस भान्सजाकसँगको सामान्य झडपपछि रेफ्री मार्कुस मर्कले उनलाई सिधै मैदानबाट बाहिर पठाएका थिए।

मेस्सीबिना भएको त्यस खेलमा अर्जेन्टिनाले दुईपटक अग्रता लिए पनि माइकल ओवेनले अन्तिम समयमा दुई गोल गर्दै इंग्ल्यान्डलाई ३-२ को रोमाञ्चक जित दिलाएका थिए।

मेस्सीका मनपर्ने प्रतिद्वन्द्वी

सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताएपछि मेस्सीको अन्तर्राष्ट्रिय विरासत अझ उचाइमा पुगेको छ। उनी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

मेस्सीले बोलिभियाविरुद्ध १२ खेलमा ११ गोल, भेनेजुएलाविरुद्ध १३ खेलमा ७ गोल,  इक्वेडरविरुद्ध ११ खेलमा ७ गोल,  उरुग्वेविरुद्ध ६ गोल,  ब्राजिलविरुद्ध ५ गोल क्रोएसिया, स्विट्जरल्यान्ड र फ्रान्सविरुद्ध समान ३-३ गोल गरेका छन्।

फ्रान्सविरुद्ध उनले तीन खेलमै तीन गोल गरेका छन्। सन् २०२२ को विश्वकप फाइनलमा गरेको दुई गोल विशेष रूपमा स्मरणीय मानिन्छ। मेस्सीले कतारविरुद्ध दुई खेल खेले पनि गोल गर्न भने सकेका छैनन्।

प्रकाशित: २९ असार २०८३ ११:३८ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast