नारायणगढ-बुटवल सडक विस्तार : पर्यटन व्यवसाय चलायमान बन्दा व्यवसायी आशावादी

हिमाल प्रेस २४ असार २०८३ ९:३७ | Wednesday, July 8, 2026
12
SHARES
नारायणगढ-बुटवल सडक विस्तार : पर्यटन व्यवसाय चलायमान बन्दा व्यवसायी आशावादी

नवलपरासी- निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि होटल तथा पर्यटन व्यवसाय पुनः चलायमान हुनेमा यहाँका व्यवसायी आशावादी बनेका छन्। सडक निर्माणका क्रममा वर्षौँदेखि धुलो, हिलो, जाम र जोखिमपूर्ण यात्राका कारण यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिएर खाना खाने, विश्राम गर्ने तथा घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो। यसले राजमार्ग लक्षित होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन्। अहिले सडक कालोपत्र भइसकेपछि यात्रुहरूको आवागमन सहज बन्दै गएको र होटलहरूमा पुनः चहलपहल बढ्न थालेको उनीहरूले जनाएका छन्।

नवलपुर होटल व्यवसायी संघका जिल्ला अध्यक्ष सन्तोष रानाका अनुसार सडक विस्तार सुरु भएपछि करिब पाँच–छ वर्षसम्म राजमार्ग आसपासका होटल व्यवसाय अत्यन्तै प्रभावित बने । धुलो र अव्यवस्थित सडकका कारण यात्रुहरू अप्ठ्यारो खण्ड पार गरेपछि मात्र खाना खाने वा विश्राम गर्ने मनस्थितिमा रहने भएकाले होटलहरूको व्यापार उल्लेख्य रूपमा घटेको उनले बताए।

‘सडक निर्माणका कारण लामो समयसम्म व्यापारमा मन्दी छायो । कतिपय व्यवसायीले होटल नै बन्द गर्नुपर्ने अवस्था आयो भने केही विस्थापितसमेत भए’, अध्यक्ष रानाले भने, ‘अब सडक विस्तारको काम करिब सकिएको छ । यात्रुहरू पुनः राजमार्ग आसपासका होटलमा रोकिन थालेका छन् । यसले होटल तथा पर्यटन व्यवसाय पुरानै लयमा फर्किने विश्वास बढाएको छ।’

उनका अनुसार गैँडाकोटदेखि दाउन्नेसम्मका अधिकांश होटल व्यवसाय सडक निर्माणका कारण सबैभन्दा बढी प्रभावित भएका थिए । अहिले भने सवारीसाधन नियमित रूपमा रोकिन थालेकाले व्यवसायमा सकारात्मक संकेत देखिन थालेको उनको भनाइ छ।

दाउन्नेस्थित सुवेदी सेकुवा कर्नरका सञ्चालक विनोद शर्मा सुवेदीले पनि सडक निर्माणको अवधिमा होटल सञ्चालन गर्न निकै कठिन भएको अनुभव सुनाए। ‘धुलो र हिलोका कारण यात्रुहरू होटलमा रोकिनै चाहँदैनथे । होटलभित्रका सामग्रीसमेत धुलोले ढाकिन्थे । दैनिक व्यापार निकै घटेको थियो’, उनले भने, ‘अहिले सडक राम्रो बन्दै गएको छ । यात्रुहरूको आवागमन बढ्न थालेको छ । यसले व्यवसाय फेरि चलायमान हुने आशा जगाएको छ।’

नवलपुर होटल व्यवसायी संघका अनुसार जिल्लाभर करिब एक हजार १०० होटल तथा पर्यटनसम्बन्धी व्यवसाय सञ्चालनमा छन्। तीमध्ये धेरैजसो राजमार्ग निर्माणका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका थिए। अब सडक सहज बनेसँगै व्यवसायमा क्रमशः सुधार आउने विश्वास व्यवसायीहरूले गरेका छन्।

नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोका अनुसार सडकको अवस्थाले जिल्लाको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको थियो। ‘पर्यटकका लागि गन्तव्य आकर्षक भए पनि सहज पहुँच नहुँदा आगन्तुकको संख्या घटेको थियो’, उनले भने, ‘अब सडक विस्तारको काम लगभग सम्पन्न भएको छ । यसको सकारात्मक प्रभाव पर्यटन क्षेत्रमा पनि देखिन थालेको छ।’

उनका अनुसार अमलटारी, पिप्रहरलगायत वन्यजन्तु अवलोकनका प्रमुख गन्तव्यमा पछिल्लो समय पर्यटकको आगमन क्रमशः बढ्न थालेको छ । सडक सहज बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अझ वृद्धि हुने अपेक्षा गरिएको उनले बताए। नवलपुरको राजमार्ग क्षेत्रअन्तर्गत थुम्सी, दुम्किबास, दाउन्नेलगायतका स्थानहरू यात्रुका लागि प्रमुख विश्राम तथा खानाका केन्द्रका रूपमा परिचित छन् । सडक विस्तारका कारण लामो समय सुनसान बनेका यी क्षेत्रका होटलहरूमा अहिले फेरि यात्रु रोकिन थालेको व्यवसायीले बताएका छन्।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुर खण्डमा कालोपत्र र ढलानको काम सम्पन्न भइसकेको छ भने अहिले सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङ तथा अन्य सहायक पूर्वाधार निर्माणका काम भइरहेका छन् ।

विगतमा धुलो, जाम र जोखिमपूर्ण यात्राका कारण आलोचित बनेको यो सडक अहिले क्रमशः सहज र सुरक्षित बन्दै गएको छ । सडक पूर्वाधारमा आएको सुधारसँगै होटल, पर्यटन, यातायात तथा स्थानीय व्यापार–व्यवसायमा नयाँ उत्साह थपिएको छ । व्यवसायीका अनुसार सहज सडकले पर्यटकको आगमन बढाउनुका साथै जिल्लाको समग्र आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने विश्वास गरिएको छ। रासस

प्रकाशित: २४ असार २०८३ ९:३७ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast