रेडकार्ड पाएका अमेरिकाका बालोगुनलाई फिफाले खेल्न अनुमति दिएपछि फुटबल जगत् स्तब्ध, ट्रम्पको भूमिकामाथि प्रश्न

हिमाल प्रेस २२ असार २०८३ १२:२३ | Monday, July 6, 2026
16
SHARES
रेडकार्ड पाएका अमेरिकाका बालोगुनलाई फिफाले खेल्न अनुमति दिएपछि फुटबल जगत् स्तब्ध, ट्रम्पको भूमिकामाथि प्रश्न

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनलाई सोमबार बेल्जियमविरुद्धको खेल खेल्न योग्य घोषणा गरेपछि यो निर्णयले सबैलाई अचम्ममा पारेको छ।

यस विषयमा जानकारी राख्ने एक स्रोतले आइतबार सीएनएनलाई बताएअनुसार बालोगुनले रातो कार्ड पाएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसै साता फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग फोनमा कुरा गर्दै उक्त निर्णय पुनरावलोकन गर्न आग्रह गरेका थिए।

आइतबार दिउँसो फिफाले एउटा औपचारिक वक्तव्य जारी गर्दै अनुशासन संहिताको कमै प्रयोग हुने धारा २७ प्रयोग गरी बालोगुनमाथिको स्वचालित एक खेल प्रतिबन्धलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको घोषणा गर्‍यो। यससँगै उनी सिएटलमा हुने बेल्जियमविरुद्धको अन्तिम १६ को खेल खेल्न पाउने भएका छन्।

सबैलाई आश्चर्य

२५ वर्षीय बालोगुनलाई बोस्निया र हर्जगोभिनाविरुद्ध अमेरिकाले २-० ले जितेको अन्तिम ३२ को खेलमा सिधै रातो कार्ड देखाइएको थियो। त्यसपछि उनी अर्को खेलमा स्वतः निलम्बित हुने लगभग निश्चित मानिएको थियो। अमेरिकी टोली र समर्थकहरूले पनि त्यसलाई अन्तिम निर्णयकै रूपमा स्वीकार गरिसकेका थिए। तर त्यसपछि द एथलेटिकमा आएको समाचार र त्यसलगत्तै फिफाको आधिकारिक घोषणाले सबैलाई चकित बनायो।

फिफाको अनुशासन समितिले धारा २७ प्रयोग गर्दै मैदानभित्र दिइएको अनुशासनात्मक सजायको कार्यान्वयनलाई पूर्ण वा आंशिक रूपमा निश्चित परीक्षण अवधिका लागि स्थगित गर्न सकिने व्यवस्था प्रयोग गर्‍यो।

रातो कार्ड किन दिइएको थियो?

भिडियो सहायक रेफ्री (भीआर) मार्फत समीक्षा गरेपछि खेलको ६४औँ मिनेटमा बालोगुनले बोस्नियाली डिफेन्डर तारिक मुहारेमोभिचको टख्नामा जुत्ता राखेर गम्भीर फाउल गरेको ठहर गर्दै सिधै रातो कार्ड दिइएको थियो।

बालोगुन प्रशिक्षक माउरिसियो पोचेटिनोको उच्च दबाब  रणनीतिको मुख्य खेलाडी बनेका छन्। उनले प्रतियोगिताका चार खेलमा तीन गोल गर्दै टोलीका सर्वाधिक गोलकर्ता बनेका छन्। बोस्निया विरुद्ध पनि उनले पहिलो हाफमा गोल गरेका थिए। यदि फिफाले हस्तक्षेप नगरेको भए उनी सोमबारको खेल गुमाउने थिए।

अब के हुन्छ?

फिफाको निर्णयअनुसार रातो कार्ड भने उनको अभिलेखमा कायम रहनेछ। तर त्यसका कारण लाग्ने एक खेलको प्रतिबन्ध एक वर्षका लागि स्थगित गरिएको छ। यदि यो अवधिभित्र उनले फेरि यस्तै प्रकृतिको गम्भीर गल्ती गरे भने अहिले स्थगित गरिएको प्रतिबन्ध तत्काल लागू हुनेछ र त्यससँगै नयाँ सजाय पनि थपिनेछ।

अमेरिकी फुटबल संघले निर्णयप्रति सन्तुष्टि व्यक्त गर्दै भन्यो,‘हामी अनुशासन समितिको निर्णय स्वीकार गर्छौं र फोलारिन बालोगुन भोलिको खेलका लागि योग्य भएकोमा खुशी छौं। अहिले हाम्रो सम्पूर्ण ध्यान सिएटलमा बेल्जियमविरुद्ध हुने अन्तिम १६ को खेलमा केन्द्रित छ।’

ट्रम्पको भूमिकामाथि बढ्दो प्रश्न

विश्वकप आयोजक राष्ट्रका प्रमुख खेलाडीलाई यस्तो असाधारण राहत दिइनु आफैंमा विवादास्पद विषय बनेको छ। त्यसमाथि ट्रम्प र इन्फान्टिनोबीचको निकट सम्बन्धले थप प्रश्न उठाएको छ। स्रोतका अनुसार प्रतिबन्ध स्थगित गर्ने निर्णय सार्वजनिक हुनुभन्दा केही दिनअघि ट्रम्पले इन्फान्टिनोलाई फोन गरेका थिए।

निर्णयपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे,‘सही काम गरेकोमा र ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद! राष्ट्रपति डोनाल्ड जे. ट्रम्प’

अब ट्रम्पले फिफाको निर्णयमा कति प्रभाव पारे भन्ने विषयमा थप प्रश्न उठ्ने निश्चित देखिएको छ। गत वर्ष विश्वकप ड्रका क्रममा फिफाले ट्रम्पलाई “शान्ति पुरस्कार” प्रदान गरेको थियो जसलाई धेरैले अमेरिकी राष्ट्रपतिलाई खुसी पार्ने प्रयासका रूपमा व्याख्या गरेका थिए।

सीएनएनले ट्रम्प र इन्फान्टिनोबीचको फोनवार्ताबारे फिफासँग थप प्रतिक्रिया मागेको छ।

बेल्जियमको असन्तुष्टि

बेल्जियम फुटबल महासंघले फिफाको निर्णय प्रतियोगिता नियमावलीविपरीत भएको दाबी गरेको छ। महासंघले वक्तव्य जारी गर्दै भन्यो, ‘यस निर्णयले विश्वकप प्रतियोगिता नियमावलीको प्रत्यक्ष उल्लंघन गरेको छ। सबै सहभागी टोलीका अधिकार, निष्पक्ष खेल र फुटबलको नैतिकता जोगाउन हामी उपलब्ध सबै कानुनी विकल्प अध्ययन गरिरहेका छौं।’

प्रकाशित: २२ असार २०८३ १२:२३ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast