घट्दै सर्पदंशको उपचार लिने बिरामी

हिमाल प्रेस २२ असार २०८३ १०:२५ | Monday, July 6, 2026
6
SHARES
घट्दै सर्पदंशको उपचार लिने बिरामी

महोत्तरी- विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशको उपचार लिने घटेका छन्। बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा पछिल्ला चार वर्षयता उपचार लिनेको सङ्ख्या घटेको तथ्यांकले देखाएको हो।

विसं २०७१ साउन ३१ गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष २०७९/८० यता उपचार लिनेको संख्या निकै घटेको छ । त्यसअघि वर्षमा चार हजार बढीले उपचार लिने गरेकामा केन्द्रमा २०७९र८० यता यो सङ्ख्या एक हजारमुनि झरेको छ।

केन्द्रमा आव २०७९/८० मा ८७८, आव २०८०/८१ मा ८८४ र आव २०८१/८२ मा ७०२ जनाले उपचार लिएका छन् । चालु आव २०८२/८३ को (असार २० गते) सम्मको अवधिमा ७२२ जनाले उपचार लिएका उपचारमा संलग्न नेपाली सेनाको प्राविधिक टोलीका प्रमुख भोला चौधरीले जानकारी दिए।

केन्द्रमा स्थापनायताका वर्षमा सबैभन्दा बढी आव २०७७/७८ मा चार हजार १९१ जनाले उपचार लिएका छन् । त्यसैगरी, आव २०७६र७७ मा तीन हजार ९४७, आव २०७८/७९ मा तीन हजार ९३२, आव २०७५/७६ मा तीन हजार ६४१, आव २०७४/७५ मा तीन हजार ५४२, आव २०७३/७४ मा तीन हजार ३९४, आव २०७२/७३ मा तीन हजार ३१० र आव २०७१/७२ मा तीन हजार १२८ जनाले उपचार सेवा लिएका छन् । स्थापनाकालदेखि हालसम्म जम्मा ३२ हजार २७१ जनाले उपचार लिएका केन्द्रको अभिलेखमा उल्लेख छ ।

पछिल्ला चार वर्षमा आसपासका धेरै ठाउँमा सर्पदंश उपचार सेवा सञ्चालनमा आउनु र सहरीकरण बढ्दै जाँदा सर्पले ठाउँ छोड्दै गएपछि घटना कम हुनसँगै उपचार लिनेको सङ्ख्या घट्दै गएको प्राविधिक टोलीका प्रमुख चौधरीको भनाइ छ ।

एक दशकअघिसम्म विषालु सर्पको त्रास रहेको बर्दिबास नगर क्षेत्रमा सर्पदंशका घटना बढेपछि सामुदायिक प्रयत्नबाट सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको हो । केन्द्रमा स्थापनाकालदेखि नै नेपाली सेनाका दक्ष प्राविधिक टोलीले उपचार सेवा दिँदै आएका केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटा बताए।

केन्द्रले स्थापनाकालयता हालसम्म उपचार लिन आएमध्ये ६७ जनालाई मात्र अन्यत्र रेफर गरेको उनको भनाइ छ।

प्रकाशित: २२ असार २०८३ १०:२५ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast