रोल्पा- पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पत्रकार लिलप्रकाश चन्दलाई समाज सुधार सामुदायिक सिकाइ केन्द्र रोल्पाले पुरस्कृत गरेको छ।
परिवर्तन गाउँपालिका-३ थुनिकोटमा आयोजित विशेष समारोहका बीच देशभरका सामुदायिक रेडियोहरूको साझा नेटवर्क (सीआईएन) का सम्पादक चन्दलाई २० हजार राशिको पुरस्कारसहति ‘उत्कृष्ट सञ्चारकर्मी’ सम्मान तथा अभिनन्दन गरिएको हो।
केन्द्रले परिवर्तन गाउँपालिकामा जन्मेर जिल्लाभित्रै सक्रिय वा जिल्ला बाहिर कार्यक्षेत्र बनाएका पत्रकारमध्येबाट एक जनालाई सम्मान तथा अभिनन्दन गर्ने कार्यविधि अनुसार पहिलो पटक चन्दलाई पुरस्कार तथा सम्मान अर्पणका लागि छनोट गरिएको अक्षयकोष सञ्चालन समितिका संयोजक सूर्यप्रकाश डाँगीले बताए।
उनका अनुसार जाजरकोट भूकम्पको समयमा स्थलगत रूपमा गरिएको रिपोर्टिङ तथा सरोकारवालाबीच सकारात्मक समन्वय गर्दै रेडियो कार्यक्रमका माध्यमबाट भूकम्प प्रभावितलाई राहत तथा उद्धारमा प्रभावकारी सञ्चार तथा सूचना सामग्री उत्पादन गरेको, काभ्रेको ठूलो पर्सेलका ३ सयभन्दा धेरै स्थानीय नागरिकको स्वास्थ्य समस्या समाधानका लागि रेडियो कार्यक्रमका माध्यवाट समन्वयकारी भूमिका खेलेकोलगायतका आधारमा पत्रकार चन्दलाई सम्मान गर्ने निष्कर्ष निकालिएको हो।
सम्मान कार्यक्रममा समाजसुधार सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष हिरालाल खड्काले रोल्पाको परिवर्तन गाउँपालिका-३ केवरीमा जन्मेर लाखौँ युवालाई उत्प्रेरणा जगाउन सफल पत्रकार चन्दलाई सम्मान तथा अभिनन्दन गर्न पाउँदा गौरव महसु भएको बताए।
समाजमा सकारात्मक परिवर्तनका लागि योगदान गर्ने व्यक्ति तथा संस्थालाई यो वर्षदेखि सम्मान सुरु गरिएको र आगामी वर्षहरूमा पनि यो निरन्तर चल्ने उनको भनाइ छ।
सम्मान ग्रहण गर्दै पत्रकार चन्दले आफू जन्मे, हुर्के ठाउँमा आएर सम्मानित हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा अझ क्रियाशील र पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणको अभियानमा लाग्न हौसला मिलेको बताए।
समाजमा जुनसुकै पेसा, व्यवसाय वा क्षेत्रमा रहे पनि अरुको भन्दा फरक ढंगबाट काम गर्ने शैली, लगाव र रुचिले हरेक व्यक्ति परिवर्तनको संवाहक बन्न सक्ने उनको भनाइ छ।
कार्यक्रममा परिवर्तन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष खिमविक्रम चन्दले समाजसुधार सामुदायिक सिकाइ केन्द्रको सम्मान तथा अभिनन्दनले सकारात्मक परिवर्तनका लागि योगदान दिएकालाई हौसला बढ्ने र युवा पुस्तालाई प्रेरणा जगाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा संरक्षण तथा संवर्धन शीर्षक अन्तर्गत परिवर्तन गाउँपालिका-३ थुनिकोटको भगवती मन्दिरलाई पनि सम्मान र ४० हजार रुपैयाँको लागतमा बनेको खुकरी उपहार हस्तान्तरण गरिएको छ।




