त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुनचाँदीका गरगहना बरामद

हिमाल प्रेस १८ असार २०८३ १६:३० | Thursday, July 2, 2026
22
SHARES
त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुनचाँदीका गरगहना बरामद

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको कार्गोबाट सुन तथा चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन्।

असार १६ गते साँझ करिब ५:३० बजे कार्गो कम्प्लेक्स भवनमा म्यानिफेस्ट नं. AMS AP 321 अन्तर्गत जुत्ता, पाइन्ट, साडी तथा अन्य कपडा रहेको उल्लेख गरिएको कार्गो बाकस एक्स-रे परीक्षणका क्रममा शंकास्पद देखिएपछि खोली जाँच गर्दा विभिन्न प्रकारका सुन तथा चाँदीजस्ता देखिने गरगहना फेला परेका नेपाल प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त सामान युनिक कार्गो झापामार्फत एपेक्स लजिस्टिक प्रालिको माध्यमबाट काठमाडौँबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापाका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

बरामद गरिएका सामग्रीमा सुनजस्ता देखिने नौगेडी, चन्द्रमा, जन्तर, सिङ्गल तथा डबल ब्रुच, शिरफूल, नेपालको झण्डा अंकित ब्रुच, खुकुरी आकारका ब्रुच, मंगलसूत्र, मोतीमाला, रातीहार र त्रिशूललगायतका गरगहना छन्।

त्यसैगरी चाँदीजस्ता देखिने नेकलेस, काँडावाला चुडा, शिरबन्दी सेट, झुम्का, तिलहरी तथा घाँटीमा लगाउने सिक्रीसमेत बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गरिएका गरगहनाको वास्तविक धातु, तौल, मूल्य र वैधानिकताबारे थप परीक्षण तथा अनुसन्धान भइरहेको छ।

प्रकाशित: १८ असार २०८३ १६:३० | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast