काठमाडौँ- सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित सांगेतडामा उक्त गाडी दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले गाडी नदीमा डुबेको बताए।
उनका अनुसार, कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो। सशस्त्र प्रहरीका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट अन्दाजी ६००/७०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटना भएको हो।
असार १८ गते बिहान ११ः३० बजे भएको दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा वेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ। दुर्घटनास्थलबाट अन्दाजी ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुष व्यक्तिको शव फेला परेको र उक्त शव नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सयुक्त टोलीले उद्धार गरी सडकतर्फ ल्याउने कार्य भई रहेको छ।




