अब विश्वविद्यालयका भर्नादेखि नतिजासम्म एउटै क्यालेन्डरअनुसार

हिमाल प्रेस १८ असार २०८३ १०:४९ | Thursday, July 2, 2026
18
SHARES
अब विश्वविद्यालयका भर्नादेखि नतिजासम्म एउटै क्यालेन्डरअनुसार

काठमाडौँ- उच्च शिक्षाको शैक्षिक प्रणालीलाई व्यवस्थित, समयबद्ध र प्रभावकारी बनाउने उद्देश्यले सरकारले परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गर्दै देशभरका विश्वविद्यालयमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।

शिक्षा मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत यसअघि कार्यान्वयनमा रहेको उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन, २०८० लाई समयानुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गरेको हो। मन्त्रालयले उक्त क्यालेन्डर कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत सबै विश्वविद्यालयमा परिपत्र गर्ने निर्णयसमेत गरेको जनाएको छ।

विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा विकास गरेको यो एकीकृत क्यालेन्डर लागू भएपछि भर्ना, अध्यापन, परीक्षा सञ्चालन, नतिजा प्रकाशनलगायत सम्पूर्ण शैक्षिक गतिविधि पूर्वनिर्धारित समयतालिकाअनुसार सञ्चालन हुने अपेक्षा गरिएको छ।

आयोगका उपनिर्देशक रमेश प्रसाद अधिकारीका अनुसार परिमार्जित क्यालेन्डरले विश्वविद्यालयहरूबीच शैक्षिक गतिविधिमा एकरूपता कायम गर्नुका साथै शैक्षिक अनुशासन र उत्तरदायित्वसमेत बढाउने विश्वास गरिएको छ।

सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्ययोजनाको बुँदा नम्बर ८७ मा स्नातक तथा स्नातकोत्तर तहका परीक्षाको नतिजा शिक्षा मन्त्रालयले निर्धारण गरेको क्यालेन्डरअनुसार सार्वजनिक गर्ने लक्ष्य राखिएको थियो। सोही लक्ष्यअनुसार मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगमार्फत राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याएको हो।

यो क्यालेन्डर विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ उपदफा (१) का खण्ड (घ), (ङ) र (च) बमोजिम कार्यान्वयन गरिनेछ। आवश्यक विषयलाई अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम समेट्दै आयोगले विश्वविद्यालयहरूलाई आवश्यक निर्देशन दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

यसअघि आयोगले तयार गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर २०८० साल भदौ २९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कार्यान्वयनमा आएको थियो। बदलिँदो शैक्षिक आवश्यकता र समयअनुकूल सुधारका लागि आयोगले परिमार्जन समिति गठन गरेको थियो।

समितिले २०८३ साल जेठ १२ गते गरेको निर्णय तथा सिफारिसका आधारमा क्यालेन्डरमा आवश्यक संशोधन गरी स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो। यसलाई मन्त्रालयले स्वीकृत गर्दै अब देशभरका विश्वविद्यालयमा कार्यान्वयन गर्ने निर्णय गरेको हो।

प्रकाशित: १८ असार २०८३ १०:४९ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast