फिफा विश्वकप

गर्भमै शिशुको निधनपछि भावुक बने गाक्पो, गोल गरेपछि थाम्न सकेनन् आँसु

हिमाल प्रेस १६ असार २०८३ ११:२९ | Tuesday, June 30, 2026
16
SHARES
गर्भमै शिशुको निधनपछि भावुक बने गाक्पो, गोल गरेपछि थाम्न सकेनन् आँसु

नेदरल्यान्ड्सका फरवार्ड कोडी गाक्पोले आफ्नो गर्भमै रहेको छोराको निधन भएको केही दिनपछि मैदानमा गोल गर्दै भावुक क्षण अनुभव गरेका छन्।

२७ वर्षीय लिभरपुल स्टार गाक्पोले मोरक्कोविरुद्धको अन्तिम ३२ (राउन्ड अफ ३२) को खेलमा नेदरल्यान्ड्सका लागि पहिलो गोल गरेका थिए। निर्धारित समय र अतिरिक्त समयपछि खेल १-१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्स ३-२ ले पराजित भयो।

गाक्पोकी जीवनसाथी तथा मोडल नोआ भान डर बाइले शनिबार सामाजिक सञ्जालमार्फत आफूहरूको गर्भमा रहेको दोस्रो सन्तानको निधन भएको जानकारी दिएकी थिइन्।

उनीहरूको दोस्रो सन्तान अक्टोबरमा जन्मिने अपेक्षा गरिएको थियो। यति ठूलो व्यक्तिगत पीडाका बाबजुद गाक्पो टोलीसँगै रहने निर्णय गरेका थिए।

गोल गरेपछि गाक्पो घुँडा टेकेर भावुक बनेका थिए। त्यसपछि उनका टोलीका खेलाडीहरू उनलाई अँगालो हाल्दै समर्थन जनाउन पुगेका थिए।

नेदरल्यान्ड्स तथा लिभरपुलका कप्तान भर्जिल भान डाइकले पनि खेल पुनः सुरु हुनुअघि गाक्पोलाई अँगालो हालेर सान्त्वना दिएका थिए।

शनिबार नोआ भान डर बाइले सामाजिक सञ्जालमा आफू र गाक्पोले एउटा कम्बल र बुनेको सानो टोपीमाथि हात राखेको तस्बिर सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘हाम्रो हृदय टुटेको अवस्थामा हामी यो अत्यन्त दुःखद खबर साझा गर्दैछौं कि गर्भावस्थाकै क्रममा हाम्रो छोरा अब हामीसँग रहेन।’

उनले थप लेखेकी छन्,‘हामीप्रति देखाउनुभएको माया र साथका लागि धन्यवाद। एलिजाह राफायल गाक्पो- सधैं हाम्रो माया रहनेछ। सधैंका लागि हाम्रो छोरा रहनेछ।’

गाक्पोले यस विश्वकपमा नेदरल्यान्ड्सका सबै खेल खेलेका थिए र कुल तीन गोल गरेका थिए। मोरक्कोविरुद्धको खेलमा उनी ११३औँ मिनेटमा प्रतिस्थापित भएका थिए र पेनाल्टी सुटआउटमा सहभागी भएका थिएनन्।

निर्धारित समयको इन्जुरी समयमा इस्सा डियोपले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याएका थिए। त्यसपछि पेनाल्टी सुटआउटमा मोरक्को विजयी हुँदै अर्को चरणमा प्रवेश गरेको थियो।

प्रकाशित: १६ असार २०८३ ११:२९ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast