देशभर फैलिँदैछ मनसुन, सबै क्षेत्रमा पानी पर्ने सम्भावना

हिमाल प्रेस १५ असार २०८३ ६:२९ | Monday, June 29, 2026
4
SHARES
देशभर फैलिँदैछ मनसुन, सबै क्षेत्रमा पानी पर्ने सम्भावना फाइल तस्बिर।

काठमाडौँ- मुलुकका विभिन्न भागमा मनसुनी वायुको प्रभाव बलियो बन्दै गएको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु पूर्ण रूपमा सक्रिय भइसकेको छ।

बाँकी रहेका क्षेत्रहरूमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा आगामी दुई देखि तीन दिनभित्रमा मनसुन विस्तार हुने बलियो सम्भावना देखिएको छ।

अहिले देशभरिको मौसमी अवस्थालाई हेर्दा कोशी र मधेस प्रदेशका साथै मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने तराईका क्षेत्रमा आंशिक बदलीको स्थिति छ। हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

सोमबार देशभरिको आकाश साधारणतया बादलले नै ढाक्ने अनुमान गरिएको छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

देशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने स्थिति देखिन्छ। विशेष गरी कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत जोखिम रहेको महाशाखाले उल्लेख गरेको छ। यसका साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानहरूमा हुरीबतास चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

प्रकाशित: १५ असार २०८३ ६:२९ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast