काठमाडौँ- फिफा विश्वकप २०२६ को समूह चरणका सबै खेलहरू सकिएसँगै प्रतियोगिताको ‘राउन्ड अफ ३२’ को समीकरण तय भएको छ। अब कुनै पनि टोलीका लागि गल्ती गर्ने वा पुनरागमन गर्ने दोस्रो मौका हुनेछैन। किनभने हार्ने टोली सिधै घर फर्किनेछ भने जित्ने टोलीले ‘राउन्ड अफ १६’ को यात्रा तय गर्नेछ।
समूह ‘जे’बाट नाटकीय रूपमा उपविजेता र विजेता बन्दै अघि बढेका अस्ट्रिया र अल्जेरियाको प्रवेशसँगै विश्वकपकै सबैभन्दा प्रतिक्षित नकआउट भिडन्तहरू तय भएका हुन्। यसपटक नकआउट चरणको सुरुवातमै केही यस्ता खेलहरू तय भएका छन्, जसलाई फाइनल अगाडिको फाइनलका रूपमा हेरिएको छ।
समूह चरणको अन्तिम खेलमा अल्जेरियासँग ३-३ को बराबरी खेल्दै नाटकीय रूपमा अघि बढेको अस्ट्रियाले अब विश्वकपको उपाधि दाबेदार स्पेनको सामना गर्नेछ। यो खेल जुलाई ३ मा नेपाली समय अनुसार राति २३;४५ बजे हुनेछ।
इन्जुरी समयको महाड्रामा पार गर्दै अन्तिम ३२ मा पुगेको आक्रामक अल्जेरियाले स्विट्जरल्यान्डको बलियो रक्षापंक्तिको सामना गर्नेछ। यो खेल जुलाई ३ मा बिहान ०५:४५ बजे सुरु हुनेछ। जोर्डनलाई ३-१ ले पन्छाउँदै उच्च लयमा देखिएको लियोनेल मेस्सीको अर्जेन्टिनाले जुलाई ४ मा बिहान ०३:४५ बजे केप भर्डेसँग खेल्नेछ।
फिफा विश्वकप २०२६ – राउन्ड अफ ३२ – खेल तालिका (नेपाली समय)
| मिति | खेल | स्थान | समय |
|---|---|---|---|
| असार १५ | दक्षिण अफ्रिकाविरुद्ध क्यानाडा | लस एन्जलस, अमेरिका | राति १२:४५ बजे |
| असार १५ | ब्राजिलविरुद्ध जापान | ह्युस्टन, अमेरिका | राति १०:४५ बजे |
| असार १६ | जर्मनीविरुद्ध पाराग्वे | बोस्टन, अमेरिका | बिहान ०२:१५ बजे |
| असार १६ | नेदरल्यान्ड्स विरुद्ध मोरक्को | मोन्टेरी, मेक्सिको | बिहान ०६:४५ बजे |
| असार १६ | आइभोरी कोस्टविरुद्ध नर्वे | डलास, अमेरिका | राति १०:४५ बजे |
| असार १७ | फ्रान्सविरुद्ध स्विडेन | न्यूयोर्क, अमेरिका | बिहान ०२:४५ बजे |
| असार १७ | मेक्सिकोविरुद्ध इक्वेडर | मेक्सिको सिटी, मेक्सिको | बिहान ०६:४५ बजे |
| असार १७ | इंगल्यान्डविरुद्ध प्रजातान्त्रिक गणतन्त्र कंगो | एटलान्टا, अमेरिका | राति ०९:४५ बजे |
| असार १८ | बेल्जियमविरुद्ध सेनेगल | सिएटल, अमेरिका | बिहान ०१:४५ बजे |
| असार १८ | अमेरिकाविरुद्ध बोस्निया र हर्जगोभिना | सान फ्रान्सिस्को, अमेरिका | बिहान ०५:४५ बजे |
| असार १९ | स्पेनविरुद्ध अस्ट्रिया | लस एन्जलस, अमेरिका | राति १२:४५ बजे |
| असार १९ | पोर्चुगलविरुद्ध क्रोएसिया | टोरन्टो, क्यानाडा | बिहान ०४:४५ बजे |
| असार १९ | स्विट्जरल्यान्डविरुद्ध अल्जेरिया | भ्यानकुभर, क्यानाडा | बिहान ०८:४५ बजे |
| असार १९ | अस्ट्रेलियाविरुद्ध इजिप्ट | डलास, अमेरिका | राति १०:४५ बजे |
| असार २० | अर्जेन्टिनाविरुद्ध केप भर्डे | मियामी, अमेरिका | बिहान ०३:४५ बजे |
| असार २० | कोलम्बियाविरुद्ध घाना | कान्सास सिटी, अमेरिका | बिहान ०६:१५ बजे |




