काठमाडौँ- अफगानिस्तानमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली भुइँचालो गएपछि भारतको राजधानी नयाँदिल्ली, जम्मु–कश्मीर तथा उत्तर भारतका विभिन्न राज्यहरूमा पनि त्यसको धक्का अनुभव गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारत सरकारअन्तर्गत भूकम्पीय गतिविधिको निगरानी गर्ने निकाय नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भुइँचालोको केन्द्रबिन्दु अफगानिस्तानमा रहेको थियो र यसको तीव्रता रिक्टर स्केलमा ६.२ म्याग्निच्युड मापन गरिएको छ।
एनसीएसले सामाजिक सञ्जाल एक्स मा सार्वजनिक गरेको विवरणअनुसार भुइँचालो भारतीय समयअनुसार साँझ ७:०४:५१ बजे गएको हो। यसको केन्द्रबिन्दु ३६.४४२ डिग्री उत्तर अक्षांश र ७०.६७२ डिग्री पूर्व देशान्तरमा रहेको थियो भने गहिराइ २१५ किलोमिटर रहेको जनाइएको छ।
संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने भुइँचालोको केन्द्र अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा पर्ने जुर्म सहरबाट करिब ४३ किलोमिटर दक्षिण रहेको जनाएको छ।
प्रारम्भिक विवरणअनुसार अफगानिस्तानमा मानवीय क्षति वा भौतिक विनाश भएको तत्काल कुनै सूचना प्राप्त भएको छैन।
रेडक्रसका अनुसार अफगानिस्तान विश्वका सबैभन्दा बढी भूकम्पीय जोखिम भएका मुलुकहरूमध्ये एक हो। विशेषगरी हिन्दुकुश पर्वतीय क्षेत्र अत्यन्त सक्रिय भूकम्पीय क्षेत्रका रूपमा चिनिन्छ। यो क्षेत्र भारतीय र युरेसियन टेक्टोनिक प्लेट एकआपसमा ठोक्किने स्थानमा अवस्थित हुनुका साथै देशभर फैलिएका प्रमुख भ्रंशरेखाहरू (फल्ट लाइन) ले पनि भुइँचालोको जोखिम बढाएको छ।
उत्तर भारतमा अनुभव गरिएको यो शक्तिशाली धक्का यस क्षेत्रमै पछिल्ला दिनहरूमा देखिएको बढ्दो भूकम्पीय गतिविधिकै बीच आएको हो। शुक्रबारयता पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा ४.३ देखि ५.३ म्याग्निच्युड सम्मका कम्तीमा पाँचवटा मध्यम तीव्रताका भुइँचालो गइसकेका छन्। ती भुइँचालोका कारण कम्तीमा पाँच जना घाइते भएका छन् भने बारखान, मुसाखेल, कोहलु, किङ्ग्री र राख्नी लगायतका दुर्गम क्षेत्रमा रहेका माटाका घरहरूमा क्षति पुगेको जनाइएको छ।
भेनेजुएलामा उद्धार जारी
यता दक्षिण अमेरिकाको भेनेजुएलामा शनिबार अरागुआ तटवर्ती क्षेत्रमा ४.९ म्याग्निच्युडको अर्को भुइँचालो गएको छ। यो केही दिनअघि आएको ७.२ र ७.५ म्याग्निच्युडका विनाशकारी भुइँचालोपछिको परकम्प हो।
ती दुई शक्तिशाली भुइँचालोका कारण मृत्यु हुनेको संख्या करिब एक हजार पुगेको छ। सरकारी तथ्यांकअनुसार हालसम्म ९२० जनाको मृत्यु, तीन हजार तीन सय ६० जना घाइते भएका छन् भने एक सय ७२ जना अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ।
अन्तर्राष्ट्रिय उद्धार टोली र मानवीय सहायता प्रभावित क्षेत्रमा पुग्न थालेका छन्। यद्यपि स्थानीय बासिन्दाले उद्धार तथा राहत सामग्री अपर्याप्त रहेको भन्दै सरकारको प्रतिक्रिया पर्याप्त नभएको गुनासो गरेका छन्।
बेपत्ता व्यक्तिहरूको विवरण सङ्कलन गर्ने अनलाइन प्लेटफर्ममा शुक्रबार दिउँसोसम्म ५० हजारभन्दा बढी हराइरहेका व्यक्तिको विवरण दर्ता भएको जनाइएको छ।




