अर्जेन्टिनाका समर्थकले लियोनेल मेस्सीको आकृतिसहितको कटआउटसँग सेल्फी खिच्दै। तस्बिर : रासस/एपी
काठमाडौँ- फिफा विश्वकप २०२६ अहिले रोमाञ्चक मोडमा पुगेको छ। समूह चरणका खेलहरू अन्तिम चरणतिर पुग्दै गर्दा मैदानभित्रको प्रतिस्पर्धासँगै मैदानबाहिर समर्थकहरूको उत्साह, उमंग र फरकफरक शैली पनि आकर्षणको केन्द्र बनेका छन्।
विश्वकप आयोजना भएका अमेरिका, मेक्सिको र क्यानडाका विभिन्न सहरदेखि अफ्रिकासम्म समर्थकहरूले आआफ्नो टोलीप्रतिको प्रेम अनौठो ढंगले अभिव्यक्त गरिरहेका छन्। कतै समर्थकहरू र्यालीमा सहभागी हुँदै टोलीलाई हौस्याइरहेका छन् भने कतै हजारौँ किलोमिटर टाढा रहेका फ्यान जोनमा खेल हेरेर गोलको खुसी मनाइरहेका छन्।
मेक्सिको सिटीमा बसोबास गर्ने अर्जेन्टिनी समर्थक जाभिएरा कार्डेनास आफ्ना पिता लाउतारो कार्डेनासको काँधमा बसेर डलासमा अर्जेन्टिना-जोर्डन खेलअघि आयोजित र्यालीमा सहभागी भएको दृश्यले समर्थकहरूको उत्साह झल्काउँछ।
अमेरिकी भिसा प्राप्त गर्न नसकेका सेनेगलका समर्थकहरूले आफ्नै देशको राजधानी डाकारस्थित फ्यान जोनमा भेला भएर इराकविरुद्धको खेल हेरे। टोलीले गोल गरेलगत्तै उनीहरूले उत्साहपूर्वक खुसी मनाएको दृश्य पनि विश्वकपको रौनक बनेको छ।
मेक्सिकोको मोन्टेरेनजिकै ग्वाडालुपेमा दक्षिण अफ्रिका र दक्षिण कोरियाबीचको खेलअघि एक समर्थकले देखाएको उत्साहले विश्वकपप्रतिको आकर्षण झल्काउँछ।
त्यसैगरी, मेक्सिकोको जापोपानमा कङ्गोमाथि कोलम्बियाले जित निकालेपछि कोलम्बियाका समर्थकहरूले विजयोत्सव मनाउँदै खुसी साटासाट गरेका थिए।
४८ टोली सहभागी यसपटकको विस्तारित विश्वकपमा मैदानभित्रका प्रतिस्पर्धाजत्तिकै मैदानबाहिर समर्थकहरूको जोश, रचनात्मकता र फुटबलप्रतिको प्रेम पनि विश्वभरका दर्शकका लागि आकर्षणको विषय बनेको छ।
तस्बिरहरू


दक्षिण अफ्रिकाका एक समर्थकले उत्साहपूर्ण प्रतिक्रिया जनाउँदै। यो दृश्य मेक्सिकोको मोन्टेरेनजिकैको ग्वाडालुपेमा बुधबार खिचिएको हो। तस्बिर:रासस/एपी







