सहआयोजक क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्डले फिफा विश्वकप २०२६ को अन्तिम ३२ (नकआउट चरण) मा स्थान सुरक्षित गरेको छ। यस जितसँगै स्विट्जरल्यान्ड समूह ‘बी’ को विजेता पनि बनेको छ।
भ्यानकुभरमा भएको खेलमा रुबेन भार्गास र जोहान मान्जाम्बीले दोस्रो हाफको सुरुवाती १२ मिनेटभित्र गोल गर्दै स्विट्जरल्यान्डलाई २-१ को जित दिलाए।
यस जितसँगै स्विट्जरल्यान्ड लगातार चार विश्वकपमा नकआउट चरणमा पुग्ने तेस्रो राष्ट्र बनेको छ। यसअघि केवल अर्जेन्टिना र फ्रान्सले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए।
अब स्विट्जरल्यान्डले जुलाई ३ मा भ्यानकुभरमा समूह ई, एफ, जी, एच, आई वा जे मध्ये कुनै एक समूहको तेस्रो स्थान प्राप्त टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
पराजित भए पनि क्यानडाले आफ्नो इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ। यसअघि उसले बाेसनिय र हर्जगाेभिनासँग बराबरी खेलेको थियो भने कतारलाई फराकिलो अन्तरले पराजित गरेको थियो।
तर समूहमा शीर्ष स्थान हासिल गर्न नसकेपछि प्रशिक्षक जेसी मार्शको टोलीले घरेलु मैदानको फाइदा गुमाएको छ। अब क्यानडाले बाँकी खेलहरू आफ्नै देशमा खेल्न पाउने छैन। उसको अर्को खेल जुन २८ मा क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियममा समूह ‘ए’ को उपविजेतासँग हुनेछ।
पहिलो हाफमा अवसरहरू निकै कम बनेका थिए। १४९औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका कप्तान ग्रानिट जाकाको नेतृत्वमा रहेको स्विट्जरल्यान्ड गोल गर्न नजिक पुगेको थियो, तर ब्रील एम्बोलोको प्रहारलाई गोलरक्षक म्याक्सिम क्रेपाउले उत्कृष्ट बचाउ गरे।
क्यानडाले भने खासै दबाब सिर्जना गर्न सकेन। कतारविरुद्ध ६ गोल गरेको टोलीले पहिलो हाफमा लक्ष्यतर्फ केवल तीन कमजोर प्रहार मात्र गर्न सक्यो।
दोस्रो हाफ सुरु भएको एक मिनेटमै स्विट्जरल्यान्डले अग्रता लियो। मान्जाम्बीको क्रसलाई भार्गासले सहज रूपमा गोलमा परिणत गर्दै प्रतियोगिताको आफ्नो दोस्रो गोल गरे।
११ मिनेटपछि स्विट्जरल्यान्डले दोस्रो गोल थप्यो। एम्बोलोको उत्कृष्ट होल्ड–अप खेलपछि मान्जाम्बीले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
खेल सकिन १४ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी डेभिड वाचाले सुन्दर टोलीगत मुभलाई गोलमा परिणत गर्दै क्यानडाका लागि एक गोल फर्काए। उनी मैदान प्रवेश गरेको केवल ७६ सेकेन्डमै गोल गर्न सफल भएका थिए। तर त्यो गोल पुनरागमनका लागि पर्याप्त हुन सकेन।
यस खेलसँगै भार्गास र मान्जाम्बी लगातार दुई विश्वकप खेलमा गोल गर्ने स्विट्जरल्यान्डका पहिलो जोडी बनेका छन्। यसअघि सन् १९५४ मा रोबर्ट बल्लामान र जोसेफ हुगीले यस्तो उपलब्धि हासिल गरेका थिए।




