बेलायत : एक दशकभित्र छैटौँ प्रधानमन्त्री बहिर्गमन

हिमाल प्रेस ८ असार २०८३ २२:०६ | Monday, June 22, 2026
8
SHARES
बेलायत : एक दशकभित्र छैटौँ प्रधानमन्त्री बहिर्गमन बेलायतका प्रधानमन्त्री किएर स्टार्मर र पत्नी भिक्टोरिया स्टार्मर सोमबार लन्डनस्थित १० डाउनिङ स्ट्रिटबाट आफ्नो राजीनामाको घोषणा गर्न बाहिर निस्कँदै। तस्बिर : एपी/रासस

सन् २०२४ मा लेबर पार्टीलाई भारी बहुमतसहित चुनाव जिताएका किएर स्टार्मरले सोमबार बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। बढ्दो राजनीतिक दबाबका बीच स्टार्मरले सप्ताहन्तमा गम्भीर सोचविचार गरेपछि यो निर्णय लिएको बताएका छन्।

प्रधानमन्त्रीको सरकारी कार्यालय तथा निवास १० डाउनिङ स्ट्रिटबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘म लेबर पार्टीको नेताको हैसियतबाट राजीनामा दिँदै छु। मैले आज बिहान महामहिम राजासँग कुरा गरी आफ्नो निर्णयबारे जानकारी गराएको छु।’

६३ वर्षीय स्टार्मरले नयाँ प्रधानमन्त्री चयन नभएसम्म आफू कार्यवाहक प्रधानमन्त्रीका रूपमा पदमा रहने बताए। राजीनामा घोषणा गर्दै उनले भने, ‘दुई वर्षअघि यही सडक हुँदै प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्नु मेरो जीवनकै सबैभन्दा गौरवपूर्ण क्षण थियो। नयाँ लेबर सरकार बनेको थियो- १४ वर्षपछि पहिलोपटक। निरासा र हतासाले भरिएको लामो समयपछि हाम्रो देशको इतिहासमा नयाँ अध्याय सुरु भएको थियो। लाखौँ मानिसको जीवनमा परिवर्तन ल्याउने अवसर प्राप्त भएको थियो। म राजनीतिमा प्रवेश गर्नुको कारण पनि यही थियो। तर यहाँसम्मको यात्रा कुनै पनि दृष्टिले सहज थिएन।’

अब लेबर पार्टीले आफ्नो नयाँ नेता चयन गर्नेछ। गत साता सम्पन्न विशेष संसदीय निर्वाचनमा विजयी भएका ग्रेटर म्यानचेस्टरका पूर्व मेयर एन्डी बर्नहम नेतृत्व दौडमा सबैभन्दा अगाडि छन्।

यो राजनीतिक परिवर्तन बेलायतमा ब्रेक्जिट जनमतसंग्रह भएको ठिक १० वर्षपछि आएको हो। ब्रेक्जिटपछि बेलायतले प्रधानमन्त्री पदबाट डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोनसन, लिज ट्रस, ऋषि सुनाक र अहिले किएर स्टार्मरको राजीनामा देखिसकेको छ। युरोपेली संघबाट बाहिरिएपछि बेलायतले अर्थतन्त्र सुदृढ बनाउने तथा आप्रवासनजस्ता विषयमा कडा नीति अवलम्बन गर्ने प्रयास गर्दै आएको छ। कोभिड–१९ महामारी, युक्रेन युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विवादास्पद नीतिहरूले बेलायतलाई निरन्तर दबाबमा राखेका छन्।

स्टार्मरको संकट कसरी सुरु भयो?

तीव्र राजनीतिक प्रतिस्पर्धाले भरिएको बेलायती राजनीतिमा स्टार्मर लामो समयसम्म एक भद्र र संयमित नेताका रूपमा परिचित थिए। पेसाले वकिल रहेका उनलाई राजनीतिमा आउनुअघि सन् २०१४ मा ‘नाइटहुड’ उपाधिबाट सम्मानित गरिएको थियो। त्यसपछि उनको नामअघि सर जोडिन थाल्यो। उपाधि प्राप्त गरेको एक वर्षपछि उनले संसदीय निर्वाचन जितेर लेबर पार्टीका सांसद बने।

राजनीतिक उकालो चढ्दै जाँदा स्टार्मर लेबर पार्टीका प्रमुख अनुहार बने। सन् २०२० मा उनी पार्टीको नेता निर्वाचित भए र चार वर्षपछि नाइटहुड प्राप्त गर्ने पहिलो बेलायती प्रधानमन्त्री बने।

उनको कार्यकालमा पनि अर्थतन्त्र र आप्रवासन प्रमुख राजनीतिक मुद्दाका रूपमा कायम रहे। त्यसैबीच डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेपछि र भन्सार शुल्क (ट्यारिफ) युद्ध सुरु भएपछि नयाँ चुनौतीहरू थपिए। यिनै चुनौतीबीच जनवरी २०२६ मा अमेरिकी न्याय विभागले बाल यौनअपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्न थालेपछि स्टार्मर ठूलो विवादमा तानिए।

विवाद सन् २०२४ मा अमेरिकाका लागि बेलायती राजदूत नियुक्तिको विषयसँग सम्बन्धित थियो। स्टार्मरले विभिन्न चेतावनीहरूलाई बेवास्ता गर्दै पीटर म्यान्डेल्सनलाई राजदूत नियुक्त गरेको आरोप लाग्यो। म्यान्डेल्सनको जेफ्री एपस्टिनसँग निकट सम्बन्ध रहेको तथ्य सार्वजनिक भएपछि स्टार्मर निरन्तर रक्षात्मक अवस्थामा देखिन थाले।

यसैबीच देशमा दक्षिणपन्थी दलहरूको लोकप्रियता बढ्न थाल्यो। म्यान्डेल्सन प्रकरणमा स्टार्मरकै केही मन्त्री तथा लेबर पार्टीका प्रभावशाली नेताहरूले समेत उनको नेतृत्वमाथि प्रश्न उठाए। त्यसपछि उनको राजनीतिक संकट झन् गहिरिँदै गयो र दबाब क्रमशः बढ्दै गयो।

को हुन् एन्डी बर्नहम?

पत्रकारिता अध्ययन गरेका तथा केही समय पत्रकारका रूपमा काम गरेका ५६ वर्षीय एन्डी बर्नहमले यसअघि दुई पटक लेबर पार्टीको नेतृत्व हासिल गर्ने प्रयास गरेका थिए। तर दुवै पटक असफल भएका थिए। अहिले भने स्टार्मरको राजीनामापछि उनी पार्टीभित्र सबैभन्दा बलियो दाबेदारका रूपमा उभिएका छन्।

बर्नहम दुई भिन्नप्रधानमन्त्रीको कार्यकालमा मन्त्रीसमेत भइसकेका छन्। फुटबल खेल्न रुचाउने उनी पानी तथा ऊर्जा क्षेत्रको राष्ट्रियकरणका समर्थक मानिन्छन्। ग्रेटर म्यानचेस्टरका मेयर रहँदा यातायात व्यवस्थापन सुधारमा उनले महत्त्वपूर्ण भूमिका खेलेको श्रेय दिइन्छ।

कोभिड–१९ महामारीका बेला तत्कालीन प्रधानमन्त्री बोरिस जोनसन र उनका मन्त्रीहरूले लकडाउन नियम उल्लंघन गरेको विषयलाई बर्नहमले ठूलो राजनीतिक मुद्दा बनाए। त्यसपछि लेबर पार्टीभित्र उनको लोकप्रियता उल्लेखनीय रूपमा बढ्न थाल्यो।

मे २०२६ मा सम्पन्न विशेष संसदीय निर्वाचनमा लेबर पार्टीले इङ्ग्ल्यान्ड, स्कटल्यान्ड र वेल्समा ठूलो पराजय बेहोरे पनि बर्नहमले आफ्नो क्षेत्रमा अति-दक्षिणपन्थी दलहरूलाई पराजित गर्न सफल भए। त्यसै क्रममा मार्करफिल्डका एक सांसदले स्टार्मरको नेतृत्वमाथि प्रश्न उठाउँदै बर्नहमका लागि आफ्नो सीट त्यागे। उक्त सीटमा जित हासिल गरेसँगै बर्नहम अब एक दशकभित्र बेलायतका सातौँ प्रधानमन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि देखिएका छन्।

प्रकाशित: ८ असार २०८३ २२:०६ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast