भक्तपुर- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण तथा पुनर्लाभका लागि देशभरका विद्यालयलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको छ।
केन्द्रको योजना तथा अनुगमन शाखाले जारी गरेको पत्रमा मनसुनका कारण हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्बाट विद्यार्थी र विद्यालयको सुरक्षा सुनिश्चित गर्न विभिन्न तयारीका काम तत्काल अघि बढाउन आग्रह गरिएको छ।
केन्द्रले विद्यालयहरूलाई विद्यालय विपद् व्यवस्थापन योजना निर्माण, अद्यावधिक तथा कार्यान्वयन गर्न, जोखिम मूल्यांकन गरी सम्भावित जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न तथा विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिलाई विपद् तयारीसम्बन्धी अभिमुखीकरण सञ्चालन गर्न निर्देशन दिएको छ।
त्यसैगरी, विद्यार्थी विद्यालय आउँदा–जाँदा सडक सुरक्षा, नदी तथा पहिरो जोखिम, विद्युतीय जोखिमलगायतका विषयमा नियमित सचेतना प्रदान गर्न, सुरक्षित निकास मार्ग, आपतकालीन सम्पर्क विवरण तथा प्राथमिक उपचार सामग्रीको व्यवस्था गर्न पनि भनिएको छ।
विपद्को समयमा विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न अभिभावक तथा समुदायसँग समन्वय गर्न र विद्यालय सुरक्षा कार्यक्रम सञ्चालन गर्दा स्थानीय तह, वडा कार्यालय तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्न केन्द्रले अनुरोध गरेको छ।
केन्द्रका निर्देशक निलकण्ठ शर्माद्वारा हस्ताक्षरित पत्रमा विद्यालयहरूले तयार पारेका विपद् व्यवस्थापन योजना तथा पूर्वतयारीसम्बन्धी विवरण सम्बन्धित स्थानीय तहलाई जानकारी गराई आवश्यक सहयोग र समन्वय गर्नसमेत आग्रह गरिएको छ।
यसैबीच, स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पनि विद्यालयसँग आवश्यक समन्वय र सहजीकरण गर्न अनुरोध गरिएको छ।





