रास्वपालाई महाधिवेशनबाट ‘थप वैचारिक स्पष्ट, जवाफदेही र थप उत्तरदायी बन्न’ गगनको शुभकामना

हिमाल प्रेस ७ असार २०८३ ८:२६ | Sunday, June 21, 2026
12
SHARES
रास्वपालाई महाधिवेशनबाट ‘थप वैचारिक स्पष्ट, जवाफदेही र थप उत्तरदायी बन्न’ गगनको शुभकामना

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै थापाले पठाएको शुभकामना सन्देशमा पार्टी स्थापना भएको छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति स्थापित गर्न सफल भएको उल्लेख छ।

उनले लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको उल्लेख गर्दै प्रथम महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिगत दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हुने विश्वास व्यक्त गरेका छन्।

थापाले महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणमा पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी बनाउन आवश्यक ऊर्जा र गति प्रदान गर्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा उनले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै सभापति लामिछानेको आगामी राजनीतिक यात्राका लागि समेत शुभेच्छा व्यक्त गरेका छन्। रास्वपाको महाधिवेशन आइतबार चितवनमा आरम्भ हुँदैछ। महाधिवेशन उद्घाटन सभापति लामिछाने र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संयुक्त रुपमा गर्ने कार्यक्रम छ।

 

प्रकाशित: ७ असार २०८३ ८:२६ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast