काठमाडौँ- भन्सार विभागले रसुवा भन्सार कार्यालयबाट भित्र्याइएका विद्युतीय सवारी साधन (ईभी) को जाँचपासका क्रममा गम्भीर प्रक्रियागत त्रुटिहरू फेला पारेको छ।
विभागले गठन गरेको अनुगमन टोलीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन केही अघि रसुवा भन्सारबाट भित्र्याइएका ईभी गाडीहरूको जाँचपासका क्रममा त्रुटि फेला पारेको हो।
भन्सार कर्मचारीहरूले ईभी जाँचपास प्रक्रियाका क्रममा आवश्यक सजगता नअपनाएको र आफ्नो पदीय जिम्मेवारी राम्ररी पूरा नगरेको अनुमगन टोलीको ठहर छ।
‘भन्सार क्षेत्रमा सवारी साधनहरू भौतिक रूपमा आइपुग्नुअघि नै काजगाजतका आधारमा मात्रै कतिपय सवारी साधनहरू जाँचपास गरिएको अध्ययनबाट खुलेको छ। यो कानुनी प्रक्रियाको उल्लंघन हो,’ विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विभागले रसुवा भन्सार कार्यालयका १३ जना कर्मचारीलाई निलम्बन गरी उनीहरूमाथि विभागीय कारबाही सुरू गरेको छ।
विभागले रसुवा भन्सार कार्यालयलाई आयातकर्ता कम्पनीहरू लक्ष्मी ई–मोबिलिटी प्रालि, सिमेक्स इन्क प्रालि, सीजी मोटर्स प्रालि, पूजा इन्टरनेसनल नेपाल प्रालि र पूजा कन्स्ट्रक्स नेपाल प्रािल तथा इजाजतपत्र नम्बर २४८, ८३३, ४७८ र अन्य भन्सार एजेन्टहरूविरूद्ध भन्सार कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको छ।
रसुवा भन्सारबाट ईभी भित्र्याउने क्रममा त्रुटि देखिए पनि मुस्ताङको कोरला नाकामा भने भन्सार जाँचपासमा कुनै प्रक्रियागत त्रुटि फेला नपरेको विभागले जनाएको छ।
‘जेठ १३ र १४ गते बीच ९ वटा भन्सार प्रज्ञापनपत्र अन्तर्गत घोषणा गरिएका कुल ६४९ वटा ईभीहरू जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेका थिए। अनुगमन टोलीले कागजात समीक्षा र सीसीटीभी फुटेजमार्फत मुस्ताङमा भन्सार जाँचपास प्रक्रिया कानुनी रूपमा पूरा गरिएको पाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ।





