काठमाडौँ- लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखान (जचुकालि) र वीरगञ्जस्थित चिनी कारखानालगायतका औद्योगिक प्रतिष्ठान पुनः सञ्चालन गर्न रुसले चासो व्यक्त गरेको छ।
बुधबार उपरराष्ट्रपति रामसहायप्रसाद यादवसँग भएको भेटवार्ताका क्रममा नेपालका लागि रुसी महासंघका आसासीय राजदूत एलेक्सी भ्लादिमिरोले यस्तो बताएका हुन्।
भेटवार्ताका क्रममा राजदूत एलेक्सीले जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी कारखानालगायतका औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालन योग्य बनाउन रुसी पक्ष तयार रहेको बताएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्ताका क्रममा दुवै जनाबीच नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा सौहार्दपूर्ण संवाद भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
यस अवसरमा उपरराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र रुसी महासंघबीच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्धी रही आएकोप्रति सन्तोष व्यक्त गरे।
उपराष्ट्रपति यादवले यसैवर्ष दुई राष्ट्रबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्ष पूरा हुँदै गरेको प्रसंग उल्लेख गर्दै पारस्परिक सम्मान, समझदारी र मित्रताको अटुट बन्धनमा आधारित सम्बन्धलाई नेपालले सगौरव स्मरण गर्न चाहेको बताए।
उनले नेपाललाई सोभियत संघकालदेखि मानव संसाधन विकास, पर्यटन, औद्योगिक तथा यातायात पूर्वाधारका क्षेत्रमा रुसले गरेको सहयोग प्रशंसनीय रहेको बताए।
‘पछिल्लो समयमा दुई राष्ट्रबीच बढ्दो सांस्कृतिक तथा जनस्तरको आदानप्रदानप्रति नेपालले प्रसन्नता व्यक्त गर्दछ,’ उपराष्ट्रपति यादवले भने, ‘आगामी दिनमा नेपाल–रुस द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिँदै हाम्रो सम्बन्ध अझ सुदृढ हुने विश्वास लिएको छु।’
यस अवसरमा राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने बताए। उनले रुस नेपाललाई जलविद्युत्, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको उल्लेख गरे।




