रास्वपा महाधिवेशन : राजनीतिसँगै पर्यटनको संगम बन्दै चितवन

हिमाल प्रेस ३ असार २०८३ १५:४९ | Wednesday, June 17, 2026
8
SHARES
रास्वपा महाधिवेशन : राजनीतिसँगै पर्यटनको संगम बन्दै चितवन

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन यहाँ हुँदैछ। यही असार ७, ८ र ९ गते भरतपुरमा हुने रास्वपाको महाधिवेशनले राजनीतिक नेतृत्व मात्रै चयन गर्दैन, यहाँको पर्यटन र व्यापार व्यवसायको प्रवद्र्धन समेत गर्नेछ।

महाधिवेशनमा आउने प्रतिनिधि, पर्यवेक्षक र पाहुनाले जिल्लाका होटल भरिभराउ हुनेछन् भने रेष्टुरेन्ट र स्थानीय उत्पादनको खपत बढ्नेछ। महाधिवेशनमा देशका बाँकी ७६ जिल्ला र विदेशबाट प्रतिनिधि एवं पर्यवेक्षक तथा अतिथिहरु आउँदैछन्। महाधिवेशनले मुख्य रुपमा यहाँको पर्यटकीय गन्तव्यलाई देशभर र विदेशमा चिनाउने सरोकारवालाहरुको विश्वास छ।

पूर्वी चितवनको रत्ननगरमा रहेको होटल स्टारका सञ्चालक भेषराज दुवाडी आफूले १५ राष्ट्रियस्तरका कार्यक्रम होटलमा गर्दा यसको सकारात्मक प्रभाव लामो समयसम्म पर्यटन क्षेत्रमा देखिएको बताउँछन्। महाधिवेशनमा आउने पाहुनाका कारण यहाँका होटल र रेष्टुरेन्ट त भरिन्छन् नै यसका अतिरिक्त स्थानीय उत्पादनले राम्रो बजार पाउने उनको भनाइ छ।

दुवाडीले भने, ‘महाधिवेशनमा आएकाहरुले पछि पारिवारिक, संघसंस्था र व्यक्ति विशेषका भ्रमण लिएर आउने सम्भावना अधिक हुन्छ।’

नागरिकको चहलपहल बढेसँगै यहाँका कृषिजन्य उत्पादनले राम्रो बजार पाउने उनको भनाइ छ। माछा, मासु, अण्डा, फलफूल, तरकारी, दुग्धजन्य पदार्थको खपत बढ्ने देखिन्छ। दुवाडीले आफ्नो होटलमा विभिन्न संघसंस्थाका राष्ट्रिय कार्यक्रमपछि सौराहालगायत क्षेत्रमा त्यसको प्रत्यक्ष प्रभाव हुने गरेको स्मरण गरे।

यसअघि सौराहामा नेकपा (एमाले) को महाधिवेशनपछि त्यसको सकारात्मक प्रभाव लामो समयसम्म परेको व्यवसायी बताउँछन्। पर्यटन व्यवसायी डा. तिलचन्द्र भट्टराई ठूला कार्यक्रम जिल्लामा गर्न पाउनु आफैँमा सकारात्मक भएको बताउँछन्। उनले भने, ‘यस्ता कार्यक्रमले जिल्लाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।’

जिल्लामा ठूला कार्यक्रम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह हुने भन्दै भट्टराईले यसअघि नेकपा (एमाले) को महाधिवेशनमा आएकाहरु पछिपछि पनि पारिवारिक र संस्थागत गरी घुम्न आएको बताए। उनले भने, ‘महाधिवेशनले चितवनलाई थप चिनाउन सहयोग पुग्छ।’

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष मित्रराज दवाडी महाधिवेशनले पर्यटक बढाउने र यसले यहाँको उत्पादन खपतमा बृद्धि हुने बताउँछन्। कृषि क्षेत्रमा लाग्दै आएका दवाडी यसको प्रत्यक्ष प्रभाव पर्यटन र यसका लागि आवश्यकपर्ने कृषिजन्य उत्पादनमा हुने बताउँछन्। यहाँ आउने प्रतिनिधिलाई जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यहरुका बारेमा जानकारी गराउनसकेमा थप प्रभावकारी बन्ने उनको बुझाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं पर्यटन व्यवसायी ध्रुव गिरी यो महाधिवेशनले समग्र जिल्लाको अर्थतन्त्र चलायमान बनाउन सहयोगी बन्ने बताउँछन्। सौराहालगायत पर्यटकीय र अन्य क्षेत्रका होटल बुकिङ भइरहेको भन्दै उनले बेमौसमा पनि पर्यटक भरिन लागेको बताए।

महाधिवेशनमा तीन हजार हाराहारी प्रतिनिधि सहभागी हुनेछन्। त्यसैगरी पर्यवेक्षक र शुभचिन्तक पनि ठूलो मात्रामा यहाँ आउने अपेक्षा गरिएको छ।

प्रकाशित: ३ असार २०८३ १५:४९ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast