सगरमाथा आरोहण : परिवर्तन, चुनौती र भविष्यबारे गेल्जे शेर्पाको अनुभव [भिडियो वार्ता]

हिमाल प्रेस ३१ जेठ २०८३ १६:२३ | Sunday, June 14, 2026
24
SHARES
सगरमाथा आरोहण : परिवर्तन, चुनौती र भविष्यबारे गेल्जे शेर्पाको अनुभव [भिडियो वार्ता]

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा विगत सात दशकदेखि नयाँनयाँ कीर्तिमान कायम गर्ने र तोड्ने क्रम जारी छ। तर सँगसँगै आरोहीको बढ्दो संख्या, व्यवसायीकरण, आधार शिविरको विस्तार, ट्राफिक जाम, जलवायु परिवर्तनका असर र हिमनदी पग्लँदै जाँदा बाहिर देखिन थालेका शवहरूले सगरमाथाको भविष्यबारे गम्भीर प्रश्न उठाएका छन्। यिनै विषयमा हालै ११औँ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरी फर्किएका अन्तर्राष्ट्रिय हिमाली पथप्रदर्शक महासंघबाट मान्यता प्राप्त पर्वत पथप्रदर्शक गेल्जे शेर्पासँग गरिएको कुराकानीको सम्पादित अंश :

पछिल्ला वर्षमा सगरमाथा क्षेत्रमा के परिवर्तन देख्नुभएको छ?

मैले सन् २००८ मा पहिलो पटक सगरमाथा आरोहण गर्दा अहिलेको जस्तो भीडभाड थिएन। आरोहीको संख्या कम थियो। अहिले भने प्रत्येक वर्ष आरोही र सहयोगीको संख्या तीव्र रूपमा बढिरहेको छ। आधार शिविरमा पनि ठूलो परिवर्तन आएको छ। पहिले सामान्य टेन्ट हुन्थे भने अहिले विशाल डोम टेन्ट, बेकरी, कफी मेसिन र विभिन्न सुविधासहितका लग्जरी क्याम्पहरू बनाइन्छन्। त्यस्ता संरचना बनाउन ठूलो मात्रामा बरफ खन्नुपर्ने हुन्छ जसले हिमनदीलाई थप क्षति पुर्‍याउँछ। पहिला क्र्याम्पन लगाउने क्षेत्रसम्म ठूलाठूला बरफका संरचना देखिन्थे। अहिले त्यही स्थानमा चट्टान मात्र बाँकी छ। यसले हिमनदी तीव्र रूपमा पग्लिरहेको स्पष्ट संकेत गर्छ।

बाटो खन्ने क्रममा भएको ढिलाइले यस सिजनको सगरमाथा आरोहण प्रभावित हुने हो कि भन्ने चासो थियो। तर १६–१७ दिनको अवधिमा १००० भन्दा बढी आरोहीले शिखर चुमेको तथ्यांक पनि छ। यस सिजनलाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ?

म आफैँ पनि यस पटक बेस क्याम्पमा केही समय बसेर प्रत्यक्ष रूपमा अवस्था अवलोकन गरेको थिएँ। बिस क्याम्पदेखि क्याम्प–२ सम्म आइसफल डाक्टरहरूले बाटो बनाउने र भर्‍याङ फिक्स गर्ने काम गर्छन्। त्यो बेला ठूलो ह्याङिङ आइस ब्लक खस्ने जोखिम भएकाले केही समय काम रोकिएको अवस्था पनि थियो। त्यही कारण सुरुमा बाटो खोल्ने काम ढिलो हुने हो कि वा यसपटक सगरमाथा आरोहण नै प्रभावित हुने हो कि भन्ने खालको अन्योल पनि देखिएको थियो। किनकि यो सिजनमा हजारौँ आरोहीको व्यवस्थापन गर्नुपर्ने हुन्छ-विदेशी र नेपाली दुवै गरी ठूलो संख्यामा क्लाइम्बरहरू हुन्छन्।

यसै कारण केही समय जोखिम मूल्यांकन गर्दै कम्पनीहरू र एसपीसीबीच पनि छलफल भएको थियो। केहीले तत्कालका लागि काम रोक्ने निर्णयसमेत गरेका थिए। तर पछि  अभियान कम्पनी, सगरमाथा प्रदूषण नियन्त्रण समिति र अन्य सरोकारवालाको समन्वयमा वैकल्पिक मार्ग पहिचान गरी बाटो खोलियो। त्यसपछि छोटो समयमै एक हजारभन्दा बढी आरोहीले सफलतापूर्वक शिखर चुम्न सके। आइसफल डाक्टरहरू र सम्बन्धित कम्पनीका टिमहरूले मिलेर बाटो पुनः निर्माण गरे र आरोहण सम्भव भयो। अन्ततः छोटो अवधिमै ठूलो संख्यामा झन्डै १६–१७ दिनभित्र एक हजारभन्दा बढी आरोहीहरूले सफलतापूर्वक शिखर चुम्न सके। सुरुवाती चरणमा ढिलाइ र अनिश्चितता भए पनि व्यवस्थापन र समन्वय राम्रो भएकाले यो सिजन सफल र व्यवस्थित रूपमा सम्पन्न भएको मान्न सकिन्छ।

आरोहीहरूको संख्या बढिरहेको छ। सरकारले पनि यस वर्ष झन्डै ५०० वटा आरोहण अनुमति (पर्मिट) जारी गरेको थियो। यो संख्या अझै बढ्दै गएको छ। तपाईंलाई के लाग्छ, आरोहीहरूको संख्या सीमित गर्नुपर्ला कि अहिलेको अवस्था उपयुक्त छ?

आरोहीहरूको संख्या बढ्नु राज्यका लागि आर्थिक रूपमा फाइदाजनक विषय हो। पर्मिटबाट प्राप्त हुने रोयल्टी तथा पर्यटन व्यवसायको दृष्टिकोणले पनि यो सकारात्मक पक्ष हो। व्यवसायीहरूका लागि समेत आरोहीहरूको संख्या बढ्नु राम्रो अवसर हो। तर अर्कोतर्फ, आरोहीहरूको संख्या निरन्तर बढ्दै जाँदा त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्छ। अन्य देशहरूको अभ्यास हेर्दा पनि निश्चित समयावधि वा क्षमता निर्धारण गरेर संख्या व्यवस्थापन गर्ने प्रवृत्ति देखिन्छ। त्यसैले भविष्यमा आवश्यकता र परिस्थितिअनुसार आरोहीहरूको संख्या तथा आरोहण अवधिलाई व्यवस्थित र नियन्त्रण गर्ने विषयमा सोच्नुपर्ने अवस्था आउन सक्छ भन्ने मलाई लाग्छ।

पथप्रदर्शकका रूपमा तपाईंको अनुभव कसरी बदलिँदै गएको छ?

पहिलेको तुलनामा अहिले धेरै भिन्न देखिन्छ। विगतमा हिमाल आरोहण गर्ने क्लाइम्बरहरूको संख्या कम हुन्थ्यो, तर पछिल्ला वर्षहरूमा यो संख्या तीव्र रूपमा बढ्दै गएको छ। त्यससँगै बेस क्याम्प लगायतका क्याम्पहरूमा पनि ठूलो परिवर्तन आएको छ। बेस क्याम्प क्षेत्रमा ग्लेसियरमाथि ठूला टेन्टहरू टाँगेर, क्लाइन्टहरूका लागि बढी सुविधायुक्त र ‘लग्जरी’ किसिमको व्यवस्था गर्ने चलन बढेको छ। व्यावसायिक दृष्टिले सेवा सुविधा बढे पनि यसले वातावरणीय असर पनि पारिरहेको छ। विशेषगरी हरेक वर्ष टेन्ट गाड्नका लागि बरफ खन्ने र जमिन सम्याउने काम निरन्तर हुँदा ग्लेसियरमा असर पर्न थालेको छ, जसले पग्लने प्रक्रिया (मेल्टिङ) पनि तीव्र बनाइरहेको छ।

मैले सन् २००८ मा पहिलो पटक एभरेस्ट आरोहण गर्दा क्र्याम्पन पोइन्टसम्म पुग्दा पनि बाक्लो बरफका ढिक्काहरू देखिन्थे। तर अहिले त्यही क्षेत्रभन्दा माथिसम्म पुग्दा धेरै ठाउँमा खुला चट्टान (रक) नै देखिन थालेको छ। यसले ग्लेसियर उल्लेखनीय रूपमा घट्दै गएको स्पष्ट देखाउँछ। विगत र अहिलेको बीचमा आरोहीहरूको संख्या मात्र होइन, वातावरणीय अवस्था र हिमालको भौगोलिक संरचनामा समेत ठूलो परिवर्तन आएको अनुभव हुन्छ। यसलाई नियन्त्रण र न्यूनीकरण गर्नुपर्ने आवश्यकता पनि बढ्दै गएको छ।

पहिले बरफले ढाकिएका क्षेत्र अहिले खुला चट्टानमा परिणत भएका छन्। केही ठाउँमा हिँड्दा बरफ पग्लिएर पानी बगिरहेको देखिन्छ। जलवायु परिवर्तनको प्रभाव तीव्र रूपमा देखिएको छ। यस विषयमा सरकार, पर्यटन व्यवसायी र अन्तर्राष्ट्रिय समुदाय सबै गम्भीर हुनुपर्छ। मेरो विचारमा आधार शिविरको व्यवस्थापन पनि पुनर्विचार गर्नुपर्छ। दीर्घकालीन रूपमा हिमनदीको संरक्षणलाई प्राथमिकता दिन आवश्यक छ।

पथप्रदर्शक (गाइड) को भूमिका कति चुनौतीपूर्ण हुन्छ?

पथप्रदर्शकको जिम्मेवारी शिखरसम्म पुग्नु मात्र होइन आरोहीलाई सुरक्षित रूपमा माथि र तल ल्याउनु पनि हो। मौसम, हिमपहिरो, बरफ खस्ने जोखिम, अक्सिजनको अवस्था, आरोहीको स्वास्थ्यलगायत सबै कुराको निरन्तर मूल्यांकन गर्नुपर्छ। कतिपय आरोही क्याम्प-२ पुगेर फर्कन्छन्। उनीहरूले जोखिम प्रत्यक्ष देखेपछि अगाडि नजाने निर्णय गर्छन्। त्यस्तो अवस्थामा हामी दबाब दिँदैनौँ। तर सक्षम र इच्छुक आरोहीलाई आवश्यक परामर्श र प्रेरणा दिन्छौँ।

टिमलाई नेतृत्व गर्दै हिमालमा जाँदा विभिन्न प्रकारका चुनौतीहरू आउँछन्। माउन्टेनमा जोखिम त सधैँ रहिरहन्छ। विशेषगरी मौसमको अवस्था, हिमालको प्राकृतिक बनावट र वातावरणीय परिवर्तनका कारण कठिनाइहरू सिर्जना हुन्छन्।कहिलेकाहीँ हिउँपहिरो आउने वा आइसका ठूला ढिक्काहरू खस्ने जस्ता जोखिमहरू पनि हुन्छन्। यस्ता अवस्थामा कुन बाटो सुरक्षित हुन्छ भन्ने कुरा पहिल्यै मूल्यांकन गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ।

गाइडका रूपमा आफ्नो सुरक्षा मात्र होइन, सम्पूर्ण टिम र क्लाइन्टहरूको सुरक्षा सुनिश्चित गर्नु मुख्य जिम्मेवारी हुन्छ। जोखिमको सही मूल्यांकन गरेर आवश्यक सावधानी अपनाउँदै अघि बढ्नुपर्छ। यसरी चुनौतीहरूबीच पनि सुरक्षित रूपमा आरोहण सम्पन्न गर्नु नै हाम्रो मुख्य उद्देश्य हुन्छ।

आरोहणका क्रममा कोही लडेर घाइते भयो वा अन्य कुनै दुर्घटनामा पर्‍यो भने उद्धारका लागि कसरी समन्वय गरिन्छ? उद्धार संयन्त्रसँग कसरी जोडिनुहुन्छ?

आरोहणका क्रममा कतै अप्ठ्यारो अवस्था आइपरेमा हामी तत्कालै पुगेर सक्दो सहयोग गर्छौं। मानवीय हिसाबले पनि घाइते वा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्नु हाम्रो दायित्व हो। प्राविधिक रूपमा आवश्यक पर्ने केही अतिरिक्त सामग्री, जस्तै डोरीलगायतका उपकरण हामीसँग सधैँ हुन्छन्। त्यसैले प्रारम्भिक उद्धार तथा सहयोगका काम हामीले तत्कालै गर्न सक्छौँ। तर कुनै व्यक्ति हरायो, हिमपहिरोमा पुरियो वा लामो समयसम्म सम्पर्कविहीन भयो भने त्यसका लागि सम्बन्धित कम्पनी वा निकायले विशेष उद्धार टोली परिचालन गर्छ। आवश्यक उपकरणसहितका उद्धारकर्मीहरू घटनास्थलमा पठाइन्छन् र त्यसपछि व्यवस्थित रूपमा खोज तथा उद्धार कार्य सञ्चालन गरिन्छ।

पहिलेको तुलनामा अहिले माउन्टेनियरिङ (आरोहण) सम्बन्धी तालिम कस्तो थियो? के पहिले तालिम कम हुन्थ्यो?

पहिले पनि तालिम हुन्थ्यो, तर अहिलेको तुलनामा अवस्था भिन्न थियो। त्यतिबेला सामाजिक सञ्जाल थिएन, मोबाइल फोनको पहुँच पनि सीमित थियो। त्यसैले धेरैजसो मानिसहरू गाउँबाट सिधै काठमाडौं आउँथे र काठमाडौँबाटै सीधै हिमाल आरोहणका लागि जान्थे। त्यो समयमा माउन्टेनियरिङसम्बन्धी ज्ञान र तयारी अहिले जस्तो व्यवस्थित हुँदैनथ्यो। सेल्फ रेस्क्यु अर्थात् आफूलाई सुरक्षित राख्दै अरूलाई कसरी बचाउने भन्ने व्यावहारिक ज्ञान पनि पर्याप्त हुँदैनथ्यो। हिमालमा आकस्मिक दुर्घटना, हिउँ पहिरो वा अन्य विपद् आएमा कसरी प्रतिक्रिया दिने भन्ने तयारी कमजोर हुने अवस्था थियो।

अहिले अवस्था निकै परिवर्तन भएको छ। तालिममा उल्लेखनीय वृद्धि भएको छ। गाइड बनेपछि उनीहरूले नेपालभित्र मात्र होइन, युरोपलगायत अन्य देशहरूमा पनि काम गर्न सक्ने स्तरको दक्षता हासिल गर्ने गरेका छन् र गर्दै पनि छन्। यसले गर्दा समग्र माउन्टेनियरिङ क्षेत्रमा व्यावसायिकता र सुरक्षा दुवै बढ्दै गएको देखिन्छ।

सगरमाथामा ट्राफिक जाम किन हुन्छ?

मुख्य कारण ‘समिट विन्डो’ अर्थात् मौसम अनुकूल हुने छोटो अवधि हो। राम्रो मौसम एकदुई दिन मात्रै रह्यो भने सयौँ आरोही एकै समयमा शिखरतर्फ अघि बढ्छन्। करिब चार सय विदेशी आरोही भए उनीहरूसँग आउने नेपाली सहयोगी, गाइड र शेर्पा गरी संख्या झन्डै दोब्बर हुन्छ। यही कारण हिलारी स्टेप र साउथ कोल क्षेत्रमा ट्राफिक जाम देखिन्छ।

आधार शिविरको जीवन कस्तो हुन्छ?

आधार शिविरमा दुई महिना बस्नु सजिलो छैन। सुरुमै हिउँ खनेर क्याम्प बनाउनुपर्छ। त्यसपछि खाद्यान्न, अक्सिजन, उपकरण र अन्य सामग्री विभिन्न क्याम्पमा पुर्‍याउनुपर्छ। हिमनदी निरन्तर परिवर्तन भइरहने भएकाले टेन्ट, बाटो र संरचनाको नियमित मर्मत आवश्यक हुन्छ। बाहिरबाट हेर्दा आरामदायी देखिए पनि त्यहाँ कामको चाप अत्यधिक हुन्छ।

सगरमाथा आरोहणको खर्च कति पर्छ?

नेपाली आरोहीलाई सामान्यतया २५ देखि ३० लाख रुपैयाँसम्म खर्च पर्न सक्छ। विदेशी आरोहीका लागि खर्च ३५ हजार अमेरिकी डलरबाट सुरु हुन्छ। सेवासुविधाअनुसार एक लाख डलरभन्दा माथिसम्म पुग्न सक्छ। अहिले सस्तो, मध्यम र अत्यन्त लग्जरी गरी विभिन्न प्रकारका प्याकेज उपलब्ध छन्।

ड्रोनको प्रयोगले स्थानीय रोजगारीमा असर गरेको छ?

ड्रोनको प्रयोग बढ्दै गएको छ। विशेष गरी सामान ढुवानी र फोहोर व्यवस्थापनमा यसको उपयोग भइरहेको छ। तर यसले स्थानीय श्रमिकको रोजगारीमा ठूलो असर गरेको जस्तो लाग्दैन। बरु जोखिमपूर्ण क्षेत्रमा धेरै भारी सामान बोकेर हिँड्नुपर्ने अवस्था केही कम भएको छ।

फोहोर व्यवस्थापनको अवस्था कस्तो छ?

विगतको तुलनामा सुधार भएको छ। सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) लगायत संस्थाले फोहोर संकलन र व्यवस्थापनमा काम गरिरहेका छन्। क्याम्प १, क्याम्प २ र क्याम्प ३ सम्म फोहोर व्यवस्थापन अपेक्षाकृत राम्रो छ। तर साउथ कोल क्षेत्रमा अझै चुनौती धेरै छ। त्यहाँको कठोर मौसम र बरफले फोहोर व्यवस्थापन जटिल बनाउँछ।

नेपालमा अन्तर्राष्ट्रिय हिमाली पथप्रदर्शक महासंघ (आईएफएमजीए)  मान्यता प्राप्त गाइड कति छन्?

हाल नेपालमा १०० भन्दा बढी आईएफएमजीए गाइड र एस्पिरेन्ट गाइड छन्। शेर्पा, गुरुङ, तामाङ, मगर, खड्कालगायत विभिन्न समुदायका व्यक्ति यस क्षेत्रमा सक्रिय छन्। गाइड बन्न सात हजार मिटरका तीनवटा हिमाल, भिन्नभिन्न आठ हजार मिटरका हिमाल आरोहण तथा विभिन्न चरणका प्राविधिक तालिम पूरा गर्नुपर्छ। सामान्यतया पाँचदेखि आठ वर्षसम्म लाग्न सक्छ।

शिखरमा पुग्दाको अनुभव कस्तो हुन्छ?

पहिलो पटक शिखरमा पुग्दा अत्यन्तै उत्साहित भएको थिएँ। तर त्यहाँ पुग्नु मात्रै अन्तिम लक्ष्य होइन। सुरक्षित रूपमा तल फर्कनु अझ महत्त्वपूर्ण हुन्छ। माथि पुगेपछि आरोहीको अक्सिजन, मौसम, ट्राफिक र अवतरणको योजनाबारे सोच्नुपर्छ। त्यसैले खुसीसँगै ठूलो जिम्मेवारी र तनाव पनि हुन्छ।

अबको योजना के छ ?

मैले सिकेको, जानेको र जीवन समर्पण गरेको क्षेत्र यही हो। त्यसैले आगामी दिनमा पनि पर्वत–पथप्रदर्शन, तालिम र हिमाली पर्यटन क्षेत्रमै सक्रिय रहने योजना छ।

भिडियो

प्रकाशित: ३१ जेठ २०८३ १६:२३ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast