सरकार छाड्नेबारे रास्वपाले दुई दिनपछि निर्णय गर्ने

हिमाल प्रेस १९ माघ २०७९ २०:३५
14
SHARES
सरकार छाड्नेबारे रास्वपाले दुई दिनपछि निर्णय गर्ने फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बिहीबार पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिनेबारे निर्णय गर्न सकेन। सत्तागठबन्धनमा रहेका अन्य दलहरूको धारणा आएपछिमात्र रास्वपाले सरकारमा बस्ने या छोड्नेबारे निर्णय गर्ने पार्टी प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए।

‘बैठकमा पार्टीका केन्द्रीय नेताहरूले पार्टीको जीवनमा अप्ठेरो मोड आएको बताउनु भएको छ, तर आजकै बैठकमा उहाँहरूले सरकार छोड्ने या नछोड्ने कुनै निर्णय गर्नु भएन,’ उनले बताए।

पार्टी सभापति रवि लामिछानेमाथि दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले शुक्रबार दोषी ठहर गरेसँगै उनी उपप्रधान एवम् गृहमन्त्री पदबाट बाहिरिएका थिए। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट साविककै नेपाली नागरिकताको प्रमाण पत्र लिइसके पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई सरकारको पुरानो जिम्मेवारी दिइसकेका छैनन्।

सत्ताको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्षमसेत रहेका प्रचण्डले सर्वोच्चको पूर्णफैसला नआएसम्म रविलाई सरकारमा सहभागी गराउन नसक्ने संकेत गरेका छन्। यता लामिछाने गृह आफ्नो पार्टीको भागबण्डामा परेकाले सोही मन्त्रालय पाएमात्र सरकारमा सहभागी हुने बताउँदै आएका छन्।

यसै विषयमा बिहीबार बसेको पार्टी बैठकले रास्वपा सरकारमा सहभागी हुने या नहुने भन्ने निर्णय गर्न सकेन। ‘सत्ता घटकका मुख्य दल माओवादी र एमालेसहित अन्य दलहरूबाट पनि धारणा आएपछि रास्वपाले सरकार छोड्ने या नछोड्नेबारे निर्णय गर्ने छ,’ प्रवक्ता ढकालले भने।

दुई दिनभित्र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने र सो बैठकपछि रास्वपाले सरकारमा बस्ने या नबस्ने निर्णय गर्ने प्रवक्ता ढकालले स्पष्ट पारे।

प्रकाशित: १९ माघ २०७९ २०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast