काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध उत्कृष्ट पुनरागमन जित हात पारेको छ।
नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै दक्षिण कोरिया २-१ गोल अन्तरले विजयी बनेको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफमा चेक रिपब्लिकले आक्रामक सुरुवात गर्दै खेलमा अग्रता लियो।
खेलको ५९ औँ मिनेटमा लाडिस्लाभ क्रेज्कीले गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, चेक रिपब्लिकको यो अग्रता धेरै समय टिक्न सकेन। खेलको ६७ औँ मिनेटमा दक्षिण कोरियाका इन बेओम ह्वाङले गोल गर्दै खेललाई १-१ को बराबरी स्थितिमा ल्याए।
त्यसपछि खेलको ८० औँ मिनेटमा ओ ह्योन ग्युले अर्को गोल थप्दै दक्षिण कोरियाको सानदार पुनरागमन जित सुनिश्चित गरे।
यसअघि समूह ‘ए’ को पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रीकालाई २-० गोलले पराजित गरेको थियो। यस जितसँगै दक्षिण कोरियाले समूहमा महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ।




