कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी।
काठमाडौँ- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष अहिलेसम्मकै बढी परिमाणमा किसानहरुलाई मल उपलब्ध गराइने बताएकी छन्।
बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्री चौधरीले यस वर्ष मलको अभाव नहुने समेत दाबी गरिन्।
चालू आर्थिक वर्षमा हालसम्म ५ लाख ५८ हजार ५२२ मेट्रिक टन मल आपूर्ति भइसकेको र ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई बिक्रिवितरण गरिसकेको उनले बताइन्।
उनले गोदाममा रहेको र नेपालमा भित्रिसकेर गोदाममा रेकर्ड राख्न बाँकी समेत गरी हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिकटन मल मौज्दात रहेको जानकारी दिइन्।
मन्त्री चौधरीले चालू आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा कुल ६ लाख मेट्रिकटनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराउने उल्लेख गरिन्।
मलको अभाव हुन नदिन मन्त्रालयले विभिन्न प्रयास एवं तयारीहरू गरिरहेको भन्दै मन्त्री चौधरीले मल आपूर्तिको सम्झौता गरिसकेका आपूर्तिकर्ताहरूलाई समयमा नै मल आपूर्ति गर्नको लागि ताकेता समेत गरिएको जानकारी दिइन्।
असार अन्तिमदेखि साउन महिनासम्ममा ९० हजार मेट्रिक टन मल नेपाल भित्रिने अपेक्षा मन्त्रालयले गरेको उनले बताइन्।
त्यस्तै उनले भारतसँग जी टु जी खरीद माध्यमबाट ८० हजार मेट्रिक टन मलको खरीद गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी पहिलो चरणमा तीस हजार मेट्रिक टन युरिया, बीस हजार मेट्रिक टन डीएपी खरीद प्रक्रिया सुरु गरिएको जानकारी दिइन्।


