नेकपा एमाले नेतृ रामकुमारी झाँक्री।
काठमाडौँ- राष्ट्रियसभा सदस्य तथा नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि उठेका आरोपहरूको निष्पक्ष छानबिन संसद वा संसद्ले गठन गरेको स्वतन्त्र समितिबाट हुनुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाँक्रीले आरोप लागेको व्यक्तिले आफैंले छानबिन गराउनु उचित नहुने भन्दै निष्पक्ष र विश्वसनीय अनुसन्धानको माग गरेकी छन्। ‘तपाईंलाई आरोप लागेको छ, तपाईंमाथि प्रश्न उठेको छ। त्यसैले तपाईंमाथि छानबिन हुनुपर्छ। तर तपाईंले छानबिन गराउने होइन।’ उनले लेखेकी छन्।
झाँक्रीले अर्थमन्त्रीमाथि लागेको आरोपको छानबिन संसद वा संसदले गठन गरेको समितिबाट मात्र सम्भव हुने उल्लेख गर्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन्।
उनले अर्थमन्त्री वाग्ले विगतमा योजना आयोगको सदस्य तथा उपाध्यक्षका रूपमा राज्य संयन्त्रभित्र रहेर काम गरेको र बजेट तथा आर्थिक नीतिका विषयमा विपक्षी बेन्चमा रहँदा पटक–पटक प्रश्न उठाउने व्यक्तित्व रहेको स्मरण गराइन्।
‘हिजो जे–जे बेथिति थिए भन्नुहुन्छ, तपाईं पावर पोलिटिक्सको नजिक र राज्य संयन्त्रमै हुँदा योजना आयोगको सदस्य र उपाध्यक्ष हुँदै त्यो प्रणालीभित्रको चलायमान र जान्ने खेलाडी हुनुहुन्थ्यो,’ झाँक्रीले लेखेकी छन्।
विपक्षमा रहँदा बजेट र आर्थिक विषयमा वाग्लेले गरेका टिप्पणी तथा अभिव्यक्तिहरू सार्वजनिक रूपमा उपलब्ध रहेको उल्लेख गर्दै उनले अहिले उठेका प्रश्नहरूलाई सामान्यीकरण गर्न नमिल्ने बताएकी छन्।
‘अरू कसैले गरेको आर्थिक अपराध, संगठित अपराध वा प्रणाली खरिद गरेको मानिने, तर तपाईं अर्थमन्त्रीको हैसियतले गरेको कामलाई ‘नयाँ’ को नाममा सामान्यीकरण गर्न मिल्दैन,’ झाँक्रीले उल्लेख गरेकी छन्। उनले आरोपको निष्पक्ष छानबिनमार्फत सत्यतथ्य सार्वजनिक गरिनुपर्नेमा जोड दिएकी छन्।




