काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) का उपाध्यक्ष मनोनयन तथा सदस्य सचिव तोक्न गठन गरिएको सिफारिस समितिले योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ।
समितिले जेठ २० गते स्वीकृत ‘सिफारिस समितिको बैठक तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम आवेदन माग गरेको हो।
सूचनाअनुसार इच्छुक तथा योग्य उम्मेदवारहरूले उपाध्यक्ष पदका लागि कार्यविधिको अनुसूची-१ तथा सदस्य सचिव पदका लागि अनुसूची-२ मा उल्लेखित ढाँचामा आवेदन दिनुपर्नेछ।
आवेदन यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले ७ दिनभित्र बुझाउनुपर्नेछ।
आवेदन शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारस्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र पेस गर्नुपर्नेछ। सार्वजनिक बिदाको दिन आवेदन दिने समय परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र पनि आवेदन बुझाउन सकिने व्यवस्था गरिएको छ।
मन्त्रालयले कार्यविधि आफ्नो आधिकारिक वेबसाइट www.moest.gov.np मा उपलब्ध रहेको जनाएको छ।




