रवि भारतबाट नफर्केसम्म संसद् बैठक नचल्ने!

हिमाल प्रेस १९ जेठ २०८३ १६:०२ | Tuesday, June 2, 2026
14
SHARES
रवि भारतबाट नफर्केसम्म संसद् बैठक नचल्ने! संसद् भवनमा मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आसनबाट उभिएर विरोध जनाउँदै विपक्षी दलका सांसदहरू।तस्बिर : रासस

काठमाडौँ-  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण अवरुद्ध प्रतिनिधिसभा बैठक आगामी असार २५ गतेसम्मका लागि स्थगित गरिएको छ।

मंगलबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिएको भन्दै विरोध जनाएपछि बैठक सञ्चालन हुन सकेन। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसद् बैठक असार २५ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने पाँचदिने भारत भ्रमणमा रहेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुगेका लामिछाने शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको छ।

संसद् स्थगनको समयावधि र लामिछानेको भारत भ्रमण एकै समयमा परेकाले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन्। कतिपय राजनीतिक दलका नेताहरू तथा सांसदहरूले रास्वपा सभापति लामिछाने स्वदेश फर्किएपछि मात्र संसद् बैठक सञ्चालन गर्ने गरी समय मिलाइएको हुन सक्ने टिप्पणी गर्न थालेका छन्।

प्रतिनिधिसभा बैठकसँग सम्बद्ध एक स्रोतका अनुसार प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति, त्यसबारे रास्वपा तथा परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरण, विपक्षी दलहरूको अवरोध र सोहीबीच लामिछानेको भारत भ्रमण जस्ता घटनाक्रमले संसद् परिसरभित्र पनि अनेक चर्चा जन्माएको छ। स्रोतका अनुसार केही सांसदहरूबीच लामिछाने फर्किएपछि मात्र राजनीतिक निकास खोजिने हो कि? भन्ने खालको कानेखुसीसमेत चलिरहेको छ।

लामिछानेलाई भारत भ्रमणका क्रममा भाजपा नेताहरूले स्वागत गरेका छन्। तर संसद् बैठक स्थगित हुनु र उनको भ्रमणबीच कुनै प्रत्यक्ष सम्बन्ध रहेको विषयमा भने आधिकारिक रूपमा कुनै पक्षले पुष्टि गरेको छैन।

प्रकाशित: १९ जेठ २०८३ १६:०२ | Tuesday, June 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast