रेल्वे मजदुर रामचन्द्र भन्छन्, यो वर्षको गर्मी उनले वर्षौँको कामका क्रममा अनुभव गरेको सबैभन्दा भीषण गर्मी हो। तस्बिर : बीबीसी
बिहान ६ बज्दासम्म बाँडामाथिको सूर्यले बिहान भएको कुरा नै बिर्सिसकेको जस्तो लाग्थ्यो।
घामको उज्यालो गर्मीयामको दिउँसोझैँ कठोर र चर्को थियो। बिहानको खाना खानुअघि छायाहरू खुम्चिन थालेका थिए।
मे महिनामा भारतको उत्तर प्रदेश राज्यको यो धुलाम्मे जिल्ला बाँडा धेरै दिनसम्म देशकै सबैभन्दा तातो स्थानको सूचीको शीर्षमा रह्यो। एक साताभन्दा बढी समयसम्म तापक्रम ४७-४८ डिग्री सेल्सियस (११६-११८ डिग्री फरेनहाइट) वरिपरि रह्यो, जुन स्थानीय मापदण्डले पनि असाधारण अवस्था थियो।
अझ उल्लेखनीय कुरा के थियो भने मानिसहरूले यससँग कसरी आफूलाई अनुकूल बनाए। बाँडाका २० लाखभन्दा बढी बासिन्दामध्ये अधिकांश मानिस खेतीपाती, निर्माण, यातायात र अन्य बाहिरी श्रममा निर्भर छन्। उनीहरूसँग गर्मी सहनुबाहेक खासै विकल्प थिएन। उनीहरूले आफ्नो दैनिककीलाई यही तापअनुसार पुनःव्यवस्थित गरिरहेका थिए।
जिल्ला सदरमुकामबाट ३० किलोमिटर टाढाको अतर्रा तरकारी बजार अधिकांश सहरहरू राम्ररी ब्युँझिनुअघि नै बन्द हुने तयारीमा पुगिसकेको हुन्थ्यो। किसानहरू बिहान सबेरै गोलभेडा, लौका, खुर्सानी, कागती र खरबुजा बोकेर आउँथे। सबैको चाहना एउटै हुन्थ्यो- चाँडै सामान बेचेर घाम अझ चर्किनुअघि घर फर्किने।
गोलभेडाका बाकस छेउमा उभिएका व्यापारी हिमांशुले भने, ‘घाम हेर्नुहोस् त। अहिले बिहान ६:१५ मात्र भएको छ, तर महसुस भने ८-९ बजेजस्तो भइरहेको छ।’
गर्मीले उनको व्यापारिक दिनलाई छोट्याइरहेको मात्र थिएन, उत्पादनको आयु पनि घटाइरहेको थियो। उनले भने, ‘गोलभेडाको एउटा बाकस आज वा भोलिसम्म बेचिसक्नुपर्छ। यस्तो मौसममा यसले धेरै टिक्दैन।’
पहिले बिहान ढिलासम्म चहलपहल हुने बजारमा अहिले ८ बजेतिर गतिविधि सुस्ताउन थाल्छ। १० बज्दासम्म बजार लगभग सुनसान भइसकेको हुन्छ।
बाँडा कर्कट रेखा नजिक अवस्थित छ।
बाँडाको जीवन लगभग सबै क्षेत्रमा यही संकुचित समयतालिकाले सञ्चालन गर्छ। आकाशको प्रचण्ड ताप र तातेको जमिनबीच मानिसहरू त्यही गर्छन्, जुन पोलिस पत्रकार रिसार्ड कापुस्चिन्स्कीले अफ्रिकाको अर्को अत्यधिक गर्मी भएको भूभागबारे लेख्दा भनेका थिए, ‘छाया र हावाको खोजीमा आफ्नो ऊर्जा खर्च गर्नु।’
राजमिस्त्री पप्पु बर्मा अहिले बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म र फेरि साँझ ४ बजेदेखि ७ बजेसम्म काम गर्छन्। बीचका चार घण्टा उनी सबैभन्दा चर्को गर्मी पार हुने प्रतीक्षामा बिताउँछन्।
उनले भने, ‘जसरी भए पनि आठ घण्टा काम पूरा गर्नुपर्छ। लगातार घाममा काम गरे पनि, बीचमा रोकेर गरे पनि ज्याला उस्तै हो।’
यो विश्रामले उनलाई टाउको दुख्ने र गर्मीजन्य बिरामी हुनबाट जोगाउँछ, तर कामको दिन १२-१३ घण्टासम्म लम्बिन्छ। उनी काँध उचाल्दै भन्छन्, ‘नत्र मैले कमाएको पैसा औषधिमा खर्चिनुपर्थ्यो।’
गत साता एक दिन दिउँसो २ बजेतिर बाँडाको तापक्रम ४६ डिग्री पुगेका बेला केन नदीमाथिको राजमार्ग पुलमा काम गरिरहेका तीन महिला सडक मजदुर पानी बोकेको ट्यांकरमुनि बसेर खाना खाइरहेका थिए। ट्यांकरको च्यासिसले बनाएको सानो छाया नै उनीहरूको आश्रय थियो।
तीमध्ये एक शान्ति देवी हरेक दिन ६ किलोमिटर हिँडेर काममा पुग्छिन् र साँझ फेरि ६ किलोमिटर हिँडेर फर्किन्छिन्। उनको दिउँसोको खाना रोटी, प्याज, नुन र अचार थियो।
‘तरकारी ल्यायो भने दिउँसोसम्म बिग्रिन्छ’, उनले भनिन्।
त्यसपछि उनले एउटा वाक्य भनिन्, जसलाई बाँडाको गर्मी लहरको नारा नै मान्न सकिन्छ- ‘गरिब मानिससँग गर्मीको चिन्ता गर्ने विलासिता हुँदैन।’
केन नदीमाथिको त्यो आश्रय प्रतीकात्मक पनि थियो। यही नदी बाँडाको तापसँगको संघर्षको केन्द्रमा छ। अनुसन्धानकर्ताहरूका अनुसार बालुवा उत्खनन र भूमिगत पानीको दोहनले नदीको वरपरको भूभागलाई चिसो राख्ने क्षमता कमजोर बनाएको छ। यसले पानी अभाव र चरम तापक्रम एकअर्कालाई बल पुर्याउने दुष्चक्र सिर्जना गरेको छ।
गर्मीको आर्थिक प्रभाव जताततै देखिन्छ।
ई-रिक्सा चालकहरूले दिउँसो यात्रु भेट्न छाडेका छन्। पसलेहरू सूर्योदयअघि पसल खोल्छन् र दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द गर्छन्। ग्राहकको संख्या आधाभन्दा कम भएको छ। अत्यधिक गर्मीका घण्टामा सिंगो सहर घरभित्र लुक्छ र साँझ मात्रै फेरि बाहिर निस्कन्छ।
मोबाइल फोनमा सरकारका चेतावनी सन्देश बारम्बार आउँछन्- ‘गम्भीर गर्मी लहरको अवस्था छ, सतर्क रहनुहोस्, सावधान रहनुहोस्।’
स्थानीय अस्पतालहरूमा गर्मीका बिरामीहरूको संख्या बढिरहेको छ।
महिला जिल्ला अस्पतालका प्रमुख चिकित्सक के कुमार भन्छन्, ‘गर्मी बढेपछि दैनिक १५-२० जना बिरामी आउन थालेका छन्, अधिकांश बालबालिका र वृद्धवृद्धा छन्। झाडापखाला, बान्ता र ज्वरो सबैभन्दा सामान्य लक्षण हुन्।’
बाँडाको यो पीडा वास्तवमा ठूलो प्रवृत्तिको स्थानीय रूप हो। भारतभर गर्मी उच्च तापक्रमको रूपमा मात्र होइन, ताप र आर्द्रताको संयुक्त प्रभावका रूपमा बढ्दो रूपमा देखा परिरहेको छ, जसले मानव शरीरमा थप दबाब सिर्जना गर्छ।
उत्तर प्रदेश उत्तर भारतको ठूलो भूभाग ओगट्ने इन्डो-गंगेटिक मैदानमा पर्छ। जलवायु अनुसन्धानकर्ताहरूका अनुसार यो ठाउँ विश्वकै खतरनाक आर्द्र गर्मीका नयाँ ‘हटस्पट’ मध्ये एक हो।
घना जनसंख्या, व्यापक सिँचाइ, प्रशस्त आर्द्रता र ठूलो संख्यामा बाहिरी श्रमिकहरूको उपस्थितिले यस्तो अवस्था बनाएको छ।
जलवायु अनुसन्धान संस्था ‘क्लाइमेट ट्रेन्ड्स’का अनुसार विशाल जनसंख्या, बाहिरी श्रममा निर्भरता र करोडौँ परिवारमा शीतल सुविधाको अभावका कारण उत्तर प्रदेश विशेष रूपमा जोखिममा छ।
वैज्ञानिकहरू भन्छन्, भूगोल र विकाससम्बन्धी निर्णयले समस्या अझ गम्भीर बनाएका छन्।
बाँडा कर्कट रेखा नजिक छ, जहाँ विश्वकै केही अत्यधिक गर्मी हुने गर्छ। नदीहरूको जलस्तर घट्दा बालुवा, ढुंगा र गिट्टीको सतह खुला हुन्छ, जसले ताप सोस्छ र पुनः विकिरण गर्छ। वनस्पतिको स्थान कंक्रिटले लिएको छ।
रूखको आवरण सिफारिस गरिएको स्तरभन्दा निकै कम छ। बाँडा कृषि तथा प्रविधि विश्वविद्यालयको अनुसन्धानअनुसार १९९१ देखि २०२२ बीच जिल्लाको घना वन क्षेत्रको झन्डै छैटौँ भाग हराएको छ, जसको मुख्य कारण खानी उत्खनन र कृषि विस्तार हो।
यी सबै कारणले बाँडालाई चरम गर्मीप्रति झन् संवेदनशील बनाएको छ।
विश्वविद्यालयका मौसमविद् दिनेश साहका अनुसार बाँडामा यसअघि पनि ४८-४९ डिग्री तापक्रम पुगेको छ। सन् २०२४ मा लगातार दुई दिन ४९ डिग्रीसम्म पुगेको थियो।
तर यो वर्षको गर्मीको विशेषता यसको निरन्तरता थियो।
उनले भने, ‘आठ-नौ दिनसम्म ४७-४८ डिग्री तापक्रम बिना अवरोध कायम रह्यो। यही नयाँ कुरा थियो।’
स्थानीय किसान प्रेम सिंहका अनुसार यस क्षेत्रमा हरेक वर्ष आउने अत्यधिक गर्मी नयाँ कुरा होइन, बरु बालीका लागि आवश्यक पनि हो।
उनी घट्दो वन क्षेत्र, व्यापक खानी उत्खनन, जीवाश्म इन्धनको बढ्दो प्रयोग र एयर कन्डिसनरको विस्तारलाई दोष दिन्छन्।
‘यसले गरिबहरूको जीवन अझ कठिन बनाएको छ, जबकि सम्पन्न वर्गमा त्यति असर परेको छैन’, उनी भन्छन्।
गर्मी सूर्यास्तपछि पनि कायमै रहन्छ।
दिनेश साह भन्छन्, ‘बिहान र रात भन्ने कुरा नै हराइसकेको जस्तो लाग्छ।’
बिहान ७-८ बज्दासम्म दिउँसोको अनुभव हुन थाल्छ। रातिको तापक्रम पनि ३० डिग्री वरिपरि रहन्छ। परिणामस्वरूप मानिसको शरीर कहिल्यै पूर्ण रूपमा चिसिन पाउँदैन।
बाँडा सहरबाट २० किलोमिटर टाढाको अछरौन्ड गाउँमा समस्या तापक्रमभन्दा बढी पानीको छ।
गाउँको अधिकांश खानेपानी एउटै इनारमा निर्भर छ। महिलाहरू हरेक दिन चर्को घाममुनि बाल्टिन लिएर लाममा बस्छन्।
१८ वर्षीया क्रान्ति विश्वकर्माले आफ्नो परिवारका लागि पानी ल्याउन दैनिक चार-पाँच घण्टा खर्च गर्छिन्। दिउँसो बिजुली जाँदा उनलाई नीमको रुखको छायाले राहत दिन्छ।
उनले भनिन्, ‘हामीसँग कुलर वा एयर कन्डिसनर छैन। हाम्रो लागि नीमको रुखले त्यही भूमिका खेल्छ।’
नजिकै ८० वर्षीया चुनुबादी डोरी बाँधेर मर्मत गरिएको टेबल फ्यानको छेउमा बसिरहेकी थिइन्। फ्यान चलिरहेको थियो, तर मुस्किलले। त्यसले फाल्ने हावा सुख्खा र असह्य रूपमा तातो थियो।
‘पसिना त सुक्छ’, उनले घुमिरहेको पंखा हेर्दै भनिन्, ‘तर यस्तो तातो हावा वृद्ध शरीरले सहन गाह्रो हुन्छ।’
त्यसपछि उनले अझ गम्भीर कुरा थपिन्- ‘मेरो ८० वर्षको जीवनमा मैले यस्तो गर्मी कहिल्यै देखेकी छैन। मानिसहरू अत्यधिक जाडो वा अत्यधिक गर्मीले मर्छन्। म यो पटक बाँच्न सक्छु कि सक्दिनँ, थाहा छैन।’
गाउँभरि जनावरले पनि आफ्नै तरिकाले गर्मीसँग जुधिरहेका थिए। दिउँसोतिर दर्जनौँ भैँसी पोखरीमा डुबेर उभिएका थिए। केही गोठालाहरू तिनीहरू बाहिर निस्कने प्रतीक्षामा थिए।
त्यहीँ ६० वर्षीय रामेश्वर यादव भेटिए, जो पहिले निजी विद्यालयमा शिक्षक थिए र अहिले भैँसीपालन गरेर जीविका चलाउँछन्। ४६ डिग्रीको गर्मीमा पनि उनी जाडो मौसममा लगाइने बाक्लो लुगा र टाउकोमा शाल बेरेर बसेका थिए।
उनले भने, ‘हामी बाक्लो लुगा लगाउँछौँ, किनभने यसले घामको ताप शरीरमा ढिलो पुग्न दिन्छ। यसले घाम र तातो हावाबाट जोगाउँछ। पसिना आउँछ, तर बिरामी हुनबाट पनि बचाउँछ।’
बाँडाका अरू सबैजस्तै यादव पनि अनुकूलित भइसकेका थिए। तर अनुकूलन र राहत एउटै कुरा होइन।
शुक्रबार पश्चिमी विक्षोभले अन्ततः धुलोयुक्त आँधी र वर्षा ल्यायो। तापक्रम ८-९ डिग्रीले घट्यो। जिल्लाले फेरि सास फेर्न पायो।
तर त्यो राहत अस्थायी मात्र थियो।
बाँडाका बासिन्दाले विकास गरेका दिनचर्या-सूर्योदयअघि काम सुरु गर्ने, दिउँसो घरभित्र बस्ने, जहाँ छायाँ भेटिन्छ त्यहीँ शरण लिने-अब केवल अनुकूलनका उपाय होइनन्; बिस्तारै अपरिहार्यता बन्दै गएका छन्।
क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीका अनुसन्धानकर्ता पियुष नारङ र अशोक गडगिलको अध्ययनअनुसार उत्तर प्रदेशमा पाँच दिनसम्म चल्ने गम्भीर गर्मी लहरका क्रममा आठ हजारभन्दा बढी अतिरिक्त मृत्यु हुन सक्छन्। यसको सबैभन्दा ठूलो भार वृद्धवृद्धा, बाहिरी श्रमिक र शीतलन सुविधाविहीन परिवारले बेहोर्छन्।
तर जलवायु वैज्ञानिकहरूको तुलनामा बाँडाका बासिन्दा कम चिन्तित सुनिन्छन्।
उनीहरू पुस्तौँदेखि गर्मीसँग बाँच्दै आएका छन्। अनुसन्धानकर्ताहरूलाई चिन्ता बाँडा तातो भएको होइन; चिन्ता के छ भने यो भूभाग अझ तातो, अझ लामो समयसम्म तातो हुँदै गइरहेको छ, जबकि ताप नियन्त्रणमा मद्दत गर्ने रूख र पानीका स्रोतहरू क्रमशः हराउँदै गएका छन्।
पानी ट्यांकरमुनि बसेका ती सडक मजदुरहरूले भने यो जोखिमलाई सामान्य रूपमा लिएका थिए।
उनीहरूले एक आगन्तुकलाई भने- ‘तपाईंलाई लु लाग्न सक्छ। हामी त यसको बानी परिसकेका छौँ।’ बीबीसीबाट




