काठमाडौँ- संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवसका अवसरमा नेपाली सेनाले काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेको छ।
विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापना तथा शान्ति कायम गर्ने कार्यमा खटिएका शान्ति सैनिकहरूको योगदानको सम्मानस्वरूप हरेक वर्ष मे २९ मा विशेष कार्यक्रम गरिन्छ।
यो अवसरमा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने क्रममा वीरगति प्राप्त गरेका दुई सैनिकका परिवारलाई सम्मानपत्र प्रदान गरेका थिए। शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्याएका पाँच जना सैनिकलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा रक्षा सचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवं पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि, परराष्ट्र मन्त्रालयका अधिकारी, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारी, सञ्चारकर्मी तथा नेपाली सेनाका अधिकृत, पदिक र अन्य दर्जाका सैनिकहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा शान्ति स्थापना कार्यमा गरिने ‘डेमो’ समेत देखाइएको थियो। नेपालले सन् १९५८ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सैनिक खटाउँदै आएको छ।
हाल नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूमध्ये पहिलो स्थानमा रहेको छ। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत विश्वका ९ वटा विभिन्न मिसनमा नेपाली सेनाका ४ हजार १७९ जना शान्ति सैनिक कार्यरत छन्।
विश्व शान्ति स्थापनाको अभियानमा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकले वीरगति प्राप्त गरेका छन् भने ७७ जना सैनिक घाइते भएका छन्। नेपाली सेनाले शान्ति स्थापना तथा द्वन्द्व प्रभावित मुलुकहरूमा स्थायित्व कायम गर्न पुर्याएको योगदान अन्तर्राष्ट्रिय स्तरमा प्रशंसनीय रहेको छ।







