प्रधानसेनापति अशोकराज सिग्देल
काठमाडौँ– नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुर्याएको योगदानको स्मरण गर्दै अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति सेना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ।
दिवसको अवसरमा सोमबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सञ्चालन तालिम केन्द्र (बीपीओटीसी) मा विशेष समारोहको आयोजना गरिएको हो।
कार्यक्रममा विश्वशान्ति स्थापनाको सिलसिलामा वीरगती प्राप्त गरेका शान्ति सैनिकको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो भने दुई सहिद शान्ति सेनाका परिवार र पाँच उत्कृष्ट शान्ति सेनाका सदस्यहरूलाई सम्मान गरिएको छ।
कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले विश्वव्यापी शान्तिका लागि नेपाली सेना हरदम समर्पित रहेको बताए। उनले शान्ति सेनाहरूले जटिल र गतिशील वातावरणमा अनुशासन, अखण्डता र समर्पणको उच्चतम स्तरलाई निरन्तर कायम राखेको धारणा राखे। शान्ति सेनाहरूलाई शान्ति कार्यहरूको बहुआयामिक चुनौतीहरूको सामना गर्न अनुशासन र समर्पणको समान मार्ग पछ्याउन प्रोत्साहित गरिने उनको भनाइ छ।
नेपाल विश्वभर ४ हजार १ सय ७९ शान्ति सेना तैनाथ गरी संयुक्त राष्ट्रसंघको अग्रणी सेना योगदानकर्ता राष्ट्रको रूपमा उभिएको नेपाली सेनाले जनाएको छ।




