यातायात खर्च बढेपछि महिला स्वास्थ्य स्वयंसेविकामा उत्साह

हिमाल प्रेस १७ जेठ २०८३ १६:५७ | Sunday, May 31, 2026
24
SHARES
यातायात खर्च बढेपछि महिला स्वास्थ्य स्वयंसेविकामा उत्साह

महेन्द्रनगर- कञ्चनपुरको बेदकोट नगरपालिका-८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत छन्।

उनले सेवा सुरु गर्दा यातायात खर्चवाफत रु ७५ पाउँथिन्। विष्टले ‘सेवा नै धर्म हो’ भन्ने भावसहित १५ दिने तालिम लिएर स्वयंसेविका भएर काम थालेको २८ वर्ष भयो।

उनी हालै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गरेकामा खुसी छन्।

विष्टले हाल बैठकवापत् रु ४०० का दरले पाउने गरेकामा त्यसमा ५० प्रतिशत वृद्धि हुने व्यवस्थाले खुसी थपिएको बताइन्। ‘हिजोका दिनमा पनि हामी पैसा हेरेर यो सेवामा आएका होइनौँ। हाम्रो मूलध्येय सेवा गर्ने हो, यस निर्णयले हामीलाई हौसला थपिएको छ’,उनले भनिन्।

अर्का महिला स्वास्थ्य स्वयंसेविका सरस्वतीदेवी कार्कीले पनि यातायात खर्चवाफतको रकम वृद्धिले काम गर्न थप हौसला मिलेको बताइन्।‘साइकल नहुँदा अटो चढेर भए पनि बोलाएको ठाउँमा पुग्दा खर्च बढी लाग्छ। पारिश्रमिक रकम धेरै नभए पनि समाजमा महिला स्वास्थ्य स्वयम्सेविकाप्रतिको सम्मान छुट्टै छ, त्यसमा यो निर्णयले थप योगदान पुग्नेछ’, उनले भनिन्।

स्वाथ्य स्वेयंसेविकाले राज्यबाट वार्षिक रूपमा पोसाक भत्तावापत रु १० हजार, सुदूरपश्चिम प्रदेश सरकारबाट प्रोत्साहन स्वरुप रु १२ हजार र बेदकोट नगरपालिकाबाट रु १५ हजार पाउने गरेका छन्।

‘सरकारले यातायात खर्च त बढायो, गाउँकै सेवामा जीवन बिताएका हामी जस्ता देशभरका हजारौँ स्वयंसेविकाका लागि थोरै भए पनि तलव भत्ता बढाइ दिए हुन्थ्यो। त्यसले हालको महँगीको अवस्थामा केही राहत मिल्थ्यो’, कार्कीले भनिन्,‘बिरामी, सुत्केरी र सामान्य स्वास्थ्य समस्या हुँदा गाउँमा हामीलाई सम्झिने र सल्लाह लिने काम अझै धेरै गर्छन्, तर सेवा सुविधा सोअनुसार छैन।’

सात जना स्वास्थ्य स्वयंसेविका भएको बेदकोट नगरपालिका–८ मा स्वास्थ्य एकाइदेखि वडामा हुने विभिन्न काममा उनीहरू खटिरहेका छन्। स्वास्थ्य स्वयंसेविका सरिता विष्ट आफूले २०६० सालदेखि सेवा गर्दै आएको जानकारी दिँदै अझै पनि धेरैजसो नागरिक प्राथमिक स्वास्थ्य उपचारदेखि विभिन्न जनचेतनामूलक कार्यक्रममा आफूहरूको भूमिका कायमै रहेको  सुनाइन्।

‘वडामा आधारभूत स्वास्थ्य एकाइहरु सञ्चालनमा आएपछि स्वास्थ्य स्वयंसेविकाको काम केही घटे पनि प्राथमिक उपचार र जनचेतनाका काममा अझै पनि नागरिक विश्वास रहेको छ’, उनले भनिन्,‘अझै पनि गाउँमा जीवनजल, जिंक, कण्डमलगायत स्वास्थ्य सामग्रीका लागि स्थानीयहरू आउने गरेका छन्।’

अन्य स्वास्थ्य स्वयंसेविकाले ६० वर्ष उमेर पार गरेपछि स्वास्थ्य अवकाशमा जाँदा राज्यबाट उचित प्याकेजसहितको सम्मान सुविधा हुनुपर्ने बताएका छन्। ‘हामी चिकित्सक त होइनौँ, तर अझै पनि गाउँलेहरू ठूलो आशा गरेर हामी कहाँ आउँछन्। हामीले आफ्नो जीवन नै नागरिक सेवामा समर्पित गर्छौँ तर भविष्यको सुरक्षा छैन। यस विषयमा पनि सरकारले सोच्नुपर्छ’, उनीहरूको भनाइ छ।

प्रकाशित: १७ जेठ २०८३ १६:५७ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast