काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूले पार्टी संगठन निर्माणमा जुट्न नेता कार्यकर्ताहरूले आह्वान गरेका हुन्।
महामन्त्री धवलशम्शेर राणाले पार्टी फुटाउने तयारी गरेको चर्चा चलिरहेको बेला राप्रपाका तीन जना पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्ताहरूलाई यस्तो आह्वान गरेका हुन्।
राप्रपाका पूर्वअध्यक्षहरू पशुपति शमसेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार संयुक्त विज्ञप्ति निकालेर संगठन निर्माणमा जुट्न आह्वान गरेका छन्।
‘गत निर्वाचनमा हामीले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेनौँ। तर, पार्टीलाई सुदृढ गर्दै सशक्त कार्ययोजनाका साथ अघि बढ्न सक्यौँ भने छोटो अवधिमै अप्रत्याशित सफलता हासिल गर्न सक्छौँ। हिन्दूराष्ट्र र राजसंस्था पुनस्र्थापना गर्न सक्छौँ,’ विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय प्रजातन्त्र पार्टीको भविष्य उज्जवल छ। तसर्थ, वर्तमान अवस्थाबाट कत्ति पनि विचलित नभई संगठन निर्माणमा जुट्न हामी सम्पूर्ण साथीहरूमा हार्दिक आह्वान गर्दछौँ।’
महामन्त्री राणा पद परित्याग गरेको घोषणा गरेर नयाँ पार्टी गठनको तयारीमा लागेको बताइएको छ। आन्तरिक कलहका कारण बढिरहेको पार्टी विभाजनको जोखिम रोक्न तीन जना पूर्वअध्यक्षहरूले चिन्ता व्यक्त गर्दै एकजुट हुन आह्वान गरेका हुन्।
उनीहरूले महाधिवेशनकोको मिति निश्चित गर्ने केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरिसेको बताउँदै कुनैखाले शंका नगर्न आग्रह गरेका छन्। पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको निराकरण महाधिवेशनले गर्ने भन्दै उनीहरूले आत्मघाती कदम नचाल्न अनुरोध गरेका छन्।
‘तोकिएको समयमै महाधिवेशन हुने कुरामा कुनै शंका नगरौँ। पार्टीभित्रका समस्या, विकृत र चुनौतीहरूको निराकरण महाधिवेशनले गर्ने नै छ,’ विज्ञप्तिमा भनिएको छ,‘अहिलेको घडीमा पार्टी छाड्ने वा पलयान हुनेबारे नसोच्न र त्यस्तो आत्मघाती कदम नचाल्न हामी पार्टीका सम्पूर्ण साथीहरूलाई विशेष अनुरोध गर्दछौँ।’




