काठमाडौँ- नेपाली कांग्रेसमा पछिल्लो समय क्रियाशील सदस्यता विवाद चर्किएको छ। संस्थापन पक्ष क्रियाशिल सदस्यता नवीकरण गरेमा मात्र १५ औँ महाधिवेशनमा भाग लिन पाइने अडान राखिरहेको छ भने अन्य समूहहरू सदस्यता नवीकरण बाध्यकारी नहुने बताइरहेका छन्। केन्द्रबाट सुरु भएको यो विवाद अहिले प्रदेश, पालिका हुँदै वडासम्म पुगेको छ। यही विवाद पार्टी विभाजनमा जाने सम्भावना पनि देखिएको छ। यही विवादका कारण मुगुस्थित सोरु गाउँकार्यसमितिमा समेत दुई समूहबीच तिक्तता आएको छ। सोरू गाउँकार्य समिती मुगुले विज्ञप्तिमार्फत नै अवैधानिक ढंगबाट क्रियाशिल सदस्यता नविकरणको कार्य भएको ध्यानाकर्षण गरेको छ।
‘नेपाली कांग्रेसको विधान र नियतको परम्परा विपरित वडा सभापति र पालिका सभापतिहरुलाई जानकारी नै नदिई अवैधानिक ढंगबाट क्रियाशिल सदस्यता नविकरणको कार्य भएको विषय सामाजिक सन्जालमा देखिन आएको छ।’ विज्ञप्तिमा भनिएको छ। ‘विभिन्न प्रयोजनमा नागरिकताको प्रमाणपत्र माग्ने र सोही नागरिकताको प्रमाणपत्रलाई मुख्य आधार बनाई क्रियाशिल सदस्यता अधावधिक गरेको देखिन्छ।पार्टी परित्याग गरेका व्यक्ति तथा केही सरकारी कर्मचारीहरुलाई समेत क्रियाशिल सदस्यता अधावधिक गरेकोमा यो कार्यको घोर विरोध गर्दछु ।’
सोरु गाउँ कार्यसमिति मुगुका सभापति कुँवेर जंग शाहीले भनेका छन्, ‘ पार्टी परित्याग गरेका व्यक्ति तथा केही सरकारी कर्मचारीहरुलाई समेत क्रियाशिल सदस्यता अधावधिक गरेकोमा यो कार्यको घोर विरोध गर्दछु । सोरु गाउँकार्य समितिबाट कसैको पनि क्रियाशिल सदस्यता अधाविधक नभएको ब्यहोरा यहौ विज्ञति मार्फत जानकारी गराउँछु।’ उनका अनुसार पालिकाको निर्देशनबिना नै अहिले सदस्यता नवीकरण भइरहेको छ।
यो प्रक्रिया नेपाली कांग्रेसको बृहद एकता र सहमतिको बाधक रहेको उनको भनाइ छ। ‘अपारदर्शी क्रियाशिल सदस्यता अधावधिक कार्य स्थान गर्नु नै नेपाली कांग्रेसका ईमान्दार कायकर्ताहरुको मुख्य माग समेत हो।’
कांग्रेसमा विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वले अनिवार्य नवीकरणको शर्त अघि सारेपछि विवादित बनेको हो। अन्य समूहहरू भने नवीकरण बाध्यकारी नबनाउन अनुरोध गरिरहेका छन्। अन्य समूहहरूले थापाले नवीकरणको नाम दिएर आफूहरूलाई सदस्यता नदिन खोजेको वा सदस्यता खारेज गर्न खोजेको आरोप लगाएका छन्।




