काठमाडौँ- आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा जेनजी पुस्तालाई लक्षित दीर्घकालीन नीति तथा कार्यक्रम नसमेटिएको भन्दै प्रश्न उठ्न थालेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा जेनजी आन्दोलनका सहिद तथा घाइतेलाई केन्द्रमा राखेर केही राहत र पुनःस्थापना कार्यक्रम मात्र समेटिएको देखिन्छ।
जेनजी पुस्ताको दीर्घकालीन रोजगारी, शिक्षा, नवप्रवर्तन र सामाजिक सहभागितासम्बन्धी स्पष्ट कार्यक्रम नदेखिएको भन्दै बजेटलाई ‘जेनजी बिर्सिएको’ टिप्पणी पनि हुन थालेको छ। सरकारले भने यी कार्यक्रमलाई सामाजिक पुनःस्थापना, आर्थिक पुनःउत्थान र समावेशी विकाससँग जोड्ने उद्देश्य रहेको दाबी गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै सहिदको सम्मान गरिनुका साथै सहिद परिवारका लागि आर्थिक सहायता सुनिश्चित गरिएको जानकारी दिए।
आन्दोलनका घाइतेका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने, अवस्थाअनुसार मासिक भत्ता उपलब्ध गराइने र उनीहरूलाई उद्यमशीलता विकासका कार्यक्रममा सहभागी गराइने सरकारको योजना छ।
बजेटमा सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्न तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्यांकन गरिने व्यवस्था पनि उल्लेख गरिएको छ। यस कार्यक्रमअन्तर्गत जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई समेत लाभग्राहीका रूपमा समेटिने भनिएको छ।




