बालेन सरकारको बजेटमा युवालाई यस्तो प्राथमिकता

हिमाल प्रेस १५ जेठ २०८३ २२:१६ | Friday, May 29, 2026
12
SHARES
बालेन सरकारको बजेटमा युवालाई यस्तो प्राथमिकता सिंहदरबारस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा प्रस्तुत भएपछि सदनबाट बाहिरिने क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायत। तस्बिर : रासस

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत युवालाई लक्षित गर्दै खेल पूर्वाधार विस्तारदेखि सीप विकास र उद्यमशीलता प्रवर्द्धनसम्मका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै युवा विकासलाई आर्थिक रूपान्तरणको आधारका रूपमा अघि बढाइने बताएका हुन्।

बजेटअनुसार आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लड लाइटसहित स्तरोन्नति गरिनेछ। साथै, प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना सरकारको छ।

वैदेशिक रोजगारीमा रहेका युवालाई लक्षित गर्दै खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर प्रदान गरिने बजेटमा उल्लेख छ। त्यस्तै युवालाई विभिन्न विषयगत छोटो अवधिका तथा कार्यस्थल–आधारित तालिममार्फत सीपयुक्त बनाउने कार्यक्रम सञ्चालन गरिनेछ।

कृषि तथा पशुजन्य उद्यम गर्न इच्छुक युवालाई प्रोत्साहन गर्न एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराइने पनि सरकारले घोषणा गरेको छ।

युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धान गर्ने अवसर प्रदान गर्न अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।

सरकारले युवा लक्षित यी कार्यक्रमलाई रोजगार सिर्जना, सीप विकास र नवप्रवर्तनसँग जोडेर अघि बढाइने जनाएको छ।

प्रकाशित: १५ जेठ २०८३ २२:१६ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast