बजेट :  निजी क्षेत्र उत्साहित

हिमाल प्रेस १५ जेठ २०८३ २०:५१ | Friday, May 29, 2026
10
SHARES
बजेट :  निजी क्षेत्र उत्साहित

काठमाडौँ– निजी क्षेत्रले सरकारले ल्याएको बजेटमा आफूहरूले उठाएका धेरै विषयको सम्बोधन भएको जनाएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले सरकारले ल्याएको बजेटबाट आफूहरू उत्साहित भएको भन्दै अर्थतन्त्र चलायमान हुने विश्वाससमेत व्यक्त गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रले निरन्तर उठाउँदै आएका धेरै विषयहरु सम्बोधन भएको बतााए। उनले रोजगारी सिर्जना, उत्पादन वृद्धिलगायतका क्षेत्रमा उल्लेख विषयहरु सकारात्मक रहेको धारणा राखे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बजेट निजी क्षेत्रलाई निकै उत्साहित बनाउने खालको रहेको बताए। सरकारले ल्याएको बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले करलगायतका विषयमा सरकारले ल्याएको विषय सकारात्मक रहेको बताए। उनले लगानी गर्नका लागि प्रोत्साहन गर्ने गरि सरकारको बजेट आएको धारणा राखे।

राससका अनुसार वीरगन्जका क्षेत्रका उद्योगी-व्यवसायीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने प्रतिक्रिया व्यक्त गरेका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले बजेटको आकार ठूलो भए तापनि निजी क्षेत्रलाई उत्साह जगाउने प्रयास गरेको बताए। ‘औद्योगिक कच्चा पदार्थ र तयारीको आयातमा छुट्टाछुट्टै स्ल्याब राख्ने प्रावधानले उद्योगीले केही राहत महसुस गर्न सक्नेछन्’, उनले भने, ‘ठूलो आकारको बजेट आएको छ तर स्रोतको सुनिश्चितता गर्न भने निकै कठिन पर्ने हो कि भन्ने शंका छ।’

अध्यक्ष गौतमले बजेटमा लोकप्रिय खालका कार्यक्रम समावेश गरिएको बताए। ‘सरकारले निजी क्षेत्रमैत्री विविध कानुन बनाउने घोषणा गरेको छ। यो पक्कै राम्रो हो’, उनले भने, ‘सरकारले १४ खर्बभन्दा धेरै राजस्व उठाउने लक्ष्य भेट्न भने केही चुनौती हुने देखिएको छ।’

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले बजेटले अर्थतन्त्र चलायमान गराउन खोजेको बताए। ‘बजेटले केही आशा जगाएको छ, कार्यान्वयन कसरी हुन्छ’, उनले भने। उनका अनुसार अन्तःशुल्क हटाउने, औद्योगिक कच्चा पदार्थमा छुटलगायत प्रावधानले निजी क्षेत्रमैत्री गराउन खोजेको देखिन्छ।

प्रकाशित: १५ जेठ २०८३ २०:५१ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast