अरुणमा बहाव बढेपछि सतिघाट फेरि बन्द

हिमाल प्रेस १४ जेठ २०८३ ११:४६ | Thursday, May 28, 2026
10
SHARES
अरुणमा बहाव बढेपछि सतिघाट फेरि बन्द

सङ्खुवासभा- पानीको बहाव बढेपछि संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाटस्थित फेरी सेवा बन्द भएको छ। मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी सञ्चालन रोकिएको हो। खाँदबारी नगरपालिका–९, सतिघाट र भोजपुरको षडानन्द नगरपालिका–६ जोड्ने उक्त फेरी एक सातादेखि सञ्चालनमा नरहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए। नदी धमिलो हुनुका साथै बहाव तीव्र बनेपछि फेरी सञ्चालन गर्न नसकिएको उनको भनाइ छ।

सतिघाटको फेरि भोजपुरको उत्तरी क्षेत्रलाई सङ्खुवासभाको खाँदबारी हुँदै तराईसँग जोड्ने मुख्य माध्यमका रूपमा प्रयोग हुँदै आएको छ । पक्की पुल नबनेकाले वैकल्पिक उपायका रूपमा २०७६ सालदेखि यहाँ फेरि सञ्चालनमा ल्याइएको थियो।

सङ्घीय र प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट जनही ७५ लाख रुपियाँ तथा षडानन्द नगरपालिकाबाट ५५ लाख रुपियाँ लगानी गरी फेरी निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

फेरी बन्द भएपछि षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दालाई आवतजावत तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ । वर्षायाममा नदीमा पानी बढेपछि फेरी पूर्णरूपमा बन्द हुने र झोलुङ्गे पुल हुँदै सामान बोक्नुपर्ने बाध्यता रहेको स्थानीय रबिन तामाङले बताए।

उनका अनुसार अरुण नदीमा पक्की पुल नहुँदा उत्तरी क्षेत्रका नागरिकले वर्षौँदेखि सास्ती भोग्दै आएका छन् । ‘सडक विस्तार भइरहेको छ तर नदीमा पुल नहुँदा विकासले गति लिन सकेको छैन,’ उनले भने।

स्थानीयका अनुसार फेरि वर्षमा करिब छदेखि आठ महिना मात्र नियमित सञ्चालन हुने गरेको छ । हिउँदमा बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म सेवा सञ्चालन भए पनि बर्खामा पटक–पटक अवरुद्ध हुने गरेको छ । फेरिबाट दैनिक १०० भन्दा बढी साना तथा ठूला सवारी साधन आवतजावत गर्ने गरेका छन्। फेरिले तत्काल समस्या समाधानमा केही राहत दिए पनि दीर्घकालीन समाधानका लागि सतिघाटमा पक्की पुल निर्माण आवश्यक रहेको नगर प्रमुख उदासले बताए। उनले पुल निर्माणका लागि सम्बन्धित निकायमा पहल भइरहेको जानकारी दिए।

प्रकाशित: १४ जेठ २०८३ ११:४६ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast