बेइजिङमै बसेर कूटनीतिक प्रभाव बढाउँदै सी चिनफिङ

हिमाल प्रेस १४ जेठ २०८३ ९:४९ | Thursday, May 28, 2026
बेइजिङमै बसेर कूटनीतिक प्रभाव बढाउँदै सी चिनफिङ चिनियाँ राष्ट्रपति सी चिनफिङ। तस्बिर : एपी/रासस

विश्वका नेताहरू यस वर्ष एउटै व्यक्ति सी चिनफिङलाई भेट्न निरन्तर चीन पुगिरहेका छन्। चिनियाँ परराष्ट्र मन्त्रालयको तथ्यांक र सरकारी सञ्चारमाध्यमका अनुसार सन् २०२६ का पहिलो पाँच महिनामै २१ राष्ट्राध्यक्ष र सरकार प्रमुखले चीन भ्रमण गरेका छन्।

यी नेताहरूमा जर्मन चान्सलर फ्रिड्रिख मर्ट्स, स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेज, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र बेलायती प्रधानमन्त्री कियर स्टार्मरका साथै तुर्कमेनिस्तान, उरुग्वे र मोजाम्बिकका नेताहरू छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना लगातार रूपमा सीसँग शिखर वार्ता गरेका थिए। पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफर सर्बियाका राष्ट्रपति अलेक्जान्दर वुचिच भने यस साता बेइजिङमा छन्।

विश्लेषकहरूका अनुसार विदेशी नेताहरूको यस्तो लामले चीनलाई बहुपक्षीय व्यवस्थाको भरपर्दो स्तम्भका रूपमा प्रस्तुत गर्ने प्रयासलाई बल पुर्‍याउन सक्छ। यद्यपि चीनले आक्रामक व्यापार नीति अघि बढाइरहेको छ, एसियामा सैन्य रूपमा थप सुदृढ बन्दै गएको छ र रूस तथा उत्तर कोरियासँग नजिकको साझेदारी कायम राखेको छ।

चिनियाँ राष्ट्रपति सीप्रति विश्व नेताहरूको यस्तो झुकावले २०औँ शताब्दीअघिको चिनियाँ ‘कर प्रणाली’ को झल्को पनि दिन्छ, जहाँ साना राजा र उच्च पदाधिकारीहरू सम्राट्को दरबारमा उपस्थित हुन जाने गर्थे।

आधुनिक चीनका इतिहासकार तथा एसिया सोसाइटीका वरिष्ठ फेलो जोन डेल्युरीले फाइनान्सियल टाइम्ससँग भनेका छन्, ‘यसको एउटा विशिष्ट चिनियाँ सन्दर्भ छ, विशेष गरी चिनियाँ जनताले यसलाई कसरी हेर्छन् भन्ने सन्दर्भमा। मानिसहरू तपाईँलाई भेट्न आउँछन् भन्ने अवस्थालाई स्वाभाविक व्यवस्थाका रूपमा प्रस्तुत गरिएको छ। सम्राट् कहिल्यै चीन बाहिर जाँदैनथे।’

सी आफैँ भने आफ्नो सत्ताको प्रारम्भिक वर्षहरूको तुलनामा विदेश भ्रमण निकै कम गर्न थालेका छन्। उनले यस वर्ष चीन छाडेका छैनन् भने २०२५ मा ६ वटा अन्तर्राष्ट्रिय भ्रमण गरेका थिए।

सीले २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व सम्हालेपछिका सात वर्षमा एक सयवटा विदेश भ्रमण गरेका थिए। त्यही अवधिमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र ट्रम्पले संयुक्त रूपमा ९० भ्रमण गरेका थिए। यो तथ्यांक पनि एसिया सोसाइटीले संकलन गरेको हो।

चीनले २०२२ मा कडा कोरोना नियन्त्रण हटाएयता सीले २६ वटा विदेश भ्रमण गरेका छन्। उता अमेरिकी समकक्षीहरू जो बाइडेन र ट्रम्पले भने ५६ विदेश भ्रमण गरेका छन्।

एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटअन्तर्गतको सेन्टर फर चाइना एनालाइसिसका चिनियाँ राजनीतिविज्ञ निल थोमसका अनुसार कोरोना महामारीपछिका सीका विदेश भ्रमण मुख्यतः चीनका छिमेकी मुलुकहरू तथा मध्य र दक्षिण–पूर्व एसियाका रणनीतिक साझेदारहरूमा केन्द्रित छन्, जुन क्षेत्रलाई अमेरिकाले प्रायः उपेक्षा गर्ने गरेको छ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा भेट गर्नुको सट्टा एकएक शिखर वार्ता आयोजना गर्नुले बेइजिङलाई कम शक्तिशाली साझेदारहरूमाथि प्रभाव जमाउन र आफूले चाहेको द्विपक्षीय सम्बन्धको मोडेलतर्फ उनीहरूलाई डोर्‍याउन पनि सहयोग पुर्‍याउँछ।

सिंगापुरस्थित अनुसन्धान संस्था कार्नेगी चाइनाका निर्देशक डेमियन माले भने, ‘चीनका लागि युरोपतर्फ जाने बाटो ब्रसेल्सबाट होइन, बर्लिन र पेरिसबाट जान्छ। दक्षिणपूर्वी एसियामा पनि उस्तै अवस्था छ। उनीहरू दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन(आसियान) सँग व्यवहार गर्न चाहँदैनन्।’

उनका अनुसार यस्तो रणनीतिले प्रायः चीनलाई फाइदा पुर्‍याएको छ।

डेल्युरीले भने सीले आफ्ना समकक्षीलाई चीनमै बोलाउन रुचाउनु ‘एकान्तवाद’ को संकेत नभई चीनको शक्ति वृद्धिको स्वाभाविक चरण भएको तर्क गरेका छन्।

उनले भने, ‘तपाईँ बेइजिङमा चीनलाई धम्की दिन वा नियम थोपर्न जानुहुन्न। तपाईँ राम्रो सम्बन्ध बनाउन, व्यापारिक सम्झौता घोषणा गर्न र तेस्रो पक्षलाई चीनसँग तपाईँको राम्रो सम्बन्ध छ भन्ने सन्देश दिन जानुहुन्छ।’

तर विदेशी नेताहरूले यसबाट प्राप्त गरेको उपलब्धि भने भिन्नभिन्न देखिएको छ।

क्यानडाली प्रधानमन्त्री कार्नीले गत जनवरीमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा मध्यम शक्तिका राष्ट्रहरूलाई एकजुट हुन आह्वान गर्दै भनेका थिए, ‘जब नियमहरूले तपाईँलाई जोगाउन छाड्छन्, तपाईँले आफैँलाई जोगाउनुपर्छ।’

त्यसभन्दा केही दिनअघि उनले सीबाट क्यानडाको महत्त्वपूर्ण कृषि निर्यात क्यानोला बिउमा लगाइएको शुल्क हटाउने सहमति प्राप्त गरेका थिए। आलोचकहरूले भने जासुसी विवाद र बन्धक कूटनीतिका कारण द्विपक्षीय तनाव कायम रहँदा पनि उनले बेइजिङको भाष्यलाई समर्थन गरेको आरोप लगाए।

बेलायती प्रधानमन्त्री स्टार्मरको भ्रमणका क्रममा चीनले ह्विस्कीमाथिको १० प्रतिशत कर आधा घटाएको थियो भने बेलायती नागरिकलाई भिसामुक्त यात्रा अनुमति दिएको थियो। साथै एस्ट्राजेनेकाले चीनमा १५ अर्ब डलर लगानी घोषणा गरेको थियो। दुवै पक्षले व्यावसायिक सेवा सम्झौताबारे सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति पनि गरेका थिए।

बेलायती विपक्षीहरूले यी उपलब्धि बेलायतभन्दा चीनका लागि बढी लाभदायक भएको भन्दै स्टार्मरमाथि झुकेको आरोप लगाए।

चीनमा करिब तीन वर्ष कूटनीतिक विवादका क्रममा हिरासतमा परेका पूर्वक्यानडेली कूटनीतिज्ञ तथा हाल कोभ्रिग समूहका प्रमुख माइकल कोभ्रिगका अनुसार ट्रम्पलाई लिएर चिन्तित पश्चिमी नेताहरू बेइजिङतर्फ दौडिएको दृश्यले चीन उदाउँदै छ र अमेरिका ओरालो लाग्दै छ भन्ने सीको भाष्यलाई अझ बलियो बनाएको छ।

उनले पश्चिमी नेताहरूलाई चीन भ्रमणअघि साझा नीति र सन्देशमा समन्वय गर्न, साझा ‘रेड लाइन’ को रक्षा गर्न तथा चिनियाँ दबाबको सामूहिक प्रतिरोध गर्न सुझाव दिए।

यसैबीच, यस महिना भएको ट्रम्प–सी शिखर वार्ता औपचारिकता र प्रदर्शनले भरिएको भए पनि ठोस उपलब्धि कम भएको विश्लेषकहरूको भनाइ छ। विशेषतः इरानमाथि दबाब सिर्जना गर्न चीनले सहयोग गर्ने विषयमा सीले स्पष्ट आश्वासन दिएका थिएनन्।

सीका निकट अन्तर्राष्ट्रिय साझेदारमध्ये एक पुटिन पनि लामो समयदेखि चर्चामा रहेको ‘पावर अफ साइबेरिया–२’ ग्यास पाइपलाइन सम्झौताबिनै बेइजिङबाट फर्किएका थिए।

अब चीन सन् २०२७ को अन्त्यतिर हुने २१औँ पार्टी कंग्रेसतर्फ उन्मुख छ। जहाँ सीले थप पाँच वर्षका लागि चौथो कार्यकाल सुरक्षित गर्ने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार हालै उच्च सैनिक अधिकारीहरूलाई हटाएका सी अब आफ्नो आगामी कार्यकाल सुनिश्चित गर्न घरेलु शक्ति राजनीतिमा झन् केन्द्रित हुनेछन्।

कार्नेगी चाइनाका मा भन्छन्, ‘हामीले स्पष्ट देखिरहेका छैनौँ, तर चीन मूलतः अहिल्यै चुनावी अभियानको चरणमा प्रवेश गरिसकेको छ। सी चिनफिङका लागि जहाजमा निरन्तर विदेश घुमिरहनुभन्दा घरमै रहनु बढी उपयुक्त हुन्छ।’

प्रकाशित: १४ जेठ २०८३ ९:४९ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast