बेइजिङ विश्व कूटनीतिको केन्द्र बन्दै गएको छ। एकपछि अर्को विश्वका शक्तिशाली नेताहरूको पालैपालोको चीन भ्रमणले चीन विश्व राजनीतिमा दह्रो रूपमा स्थापित हुँदै गएको देखाउँछ। विश्वव्यापी भूराजनीतिक द्वन्द्व निरन्तर बढिरहेको बेला र शताब्दीमा नदेखिएका परिवर्तनहरू तीव्र रूपमा घटिरहेको पृष्ठभूमिमा चीन आफ्नो स्थिर, सक्रिय तथा सकारात्मक दृष्टिकोणले ठूला देशहरूको कूटनीतिक केन्द्र र स्थिरता वा आत्मविश्वास प्रदान गर्ने एउटा ‘एन्कर’ बनेको छ।
चीनले कूटनीतिक गतिविधिहरूमार्फत विश्वलाई संवाद, सहकार्य र शान्तिपूर्ण साझा लाभको दृढ सन्देश दिएको छ। आजको विश्वमा, चीन शान्तिको निर्माता, विश्व विकासको योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षक हुँदै गएको छ।
सोही क्रममा वर्तमान इरान अमेरिका युद्धको परिप्रेक्ष्यले गर्दा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण अझै विशेष महत्ताको बनेको हो। त्यसलगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणले पनि विश्वव्यापी रूपमा तरंग पैदा गर्यो ।
विश्वका दुई महत्त्वपूर्ण तथा शक्तिशाली देशका राष्ट्रप्रमुख मात्रै होइन, यस वर्षको पूर्वार्धमा छिमेकी राष्ट्र, ग्लोबल साउथ समूहका देश तथा युरोपेली देशका राष्ट्रप्रमुखहरूले पनि चीनमा पाइला टेकेका छन्। वार्तामा बसेका छन्, सन्धिसम्झौता भएका छन्।
सर्वप्रथम अमेरिकी राष्ट्रपति ट्रम्पको तीनदिने राजकीय भ्रमणको चर्चा गरौँ। मे १३ देखि १५ तारिखसम्म राष्ट्रपति ट्रम्पले चीनको राजकीय भ्रमण गर्दै शिखर वार्तामा सहभागी भए। यसअघि अमेरिकी राष्ट्रपतिको चीन भ्रमण सन् २०१७ मा भएको थियो। डोनाल्ड ट्रम्पले तत्कालीन अमेरिकी राष्ट्रपतिको हैसियतमा सन् २०१७ नोभेम्बर ८ देखि १० तारिखसम्म चीनको राजकीय भ्रमण गरेका थिए।
यसपटकको अमेरिकी राष्ट्रपतिको चीन भ्रमण नौ वर्षपछि भएको हो। यसबाहेक दुई राष्ट्रप्रमुखहरू बीचको यो भेट गत वर्षको अक्टोबरमा दक्षिण कोरियाको बुसान भेटपछिको भेटवार्ता थियो।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार मे १४ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति ट्रम्पलाई स्वागत समारोह र स्वागतभोज आयोजना गरे। राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरे। स्वर्गमन्दिरको अवलोकन गरे। दुई मुलुकका राष्ट्रानायकले दुई मुलुक र विश्वसित सम्बन्धित महत्त्वपूर्ण विषयहरूमा वैचारिक आदानप्रदान गरे र शृंखलाबद्ध नयाँ सहमति प्राप्त गरे।

यसबाहेक तीन वर्ष वा सोभन्दा लामो समयसम्म निरन्तरता दिने उद्देश्यसहित चीन-अमेरिका रचनात्मक रणनीतिक स्थिर सम्बन्ध पनि स्थापना भएको छ। ‘दुई मुलुकका राष्ट्रानायकले ‘चीन-अमेरिका रचनात्मक रणनीतिक स्थिर सम्बन्ध’ सिर्जनालाई चीन र अमेरिकाको सम्बन्धको नयाँ चरित्रका रुपमा बनाउन सहमति जनाएका छन्। आगामी तीन वर्ष र अझै लामो समयमा चीन र अमेरिकाको सम्बन्धका लागि रणनीतिक निर्देश दिए। दुई मुलुकको सम्बन्धको स्थिर, स्वस्थ र निरन्तर विकासलाई अगाडि बढाए। विश्वका लागि अझै धेरै शान्ति, समृद्धि र प्रगति ल्याए’, प्रवक्ताले सी र ट्रम्प बीचको भेटवार्तामा प्राप्त उपलब्धिबारे भने।
यसैगरी मे १८ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता को च्याखुनले राष्ट्रपति ट्रम्पको चीन भ्रमणअवधिमा दुवै राष्ट्रनायकले चीन अमेरिका रचनात्मक रणनीतिक स्थिर सम्बन्धलाई दुवै देशसम्बन्धको नयाँ निर्धारण बनाउनुबाहेक अर्को चरणमा दुवै देशका उच्च तहको आवतजावत, कूटनीतिक, आर्थिक र व्यापारिक क्षेत्रमा रहेका संवाद र सहकार्यको तर्जुमा गरी साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूबारे गहन रूपमा वैचारिक आदानप्रदान गरेको बताए।
दुई राष्ट्रका प्रमुखहरू बीच व्यापार सन्तुलन, थाइवान मामिला, मध्यपूर्व स्थिति, युक्रेन संकट, कोरियाली प्रायद्वीपलगायतका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा वैचारिक आदानप्रदान भए। भेटवार्ताका क्रममा, चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति ट्रम्पका साथमा चीन आएका अमेरिकी व्यवसायीसँग पनि भेट गरे।
परराष्ट्रमन्त्री वाङ यीले पनि विश्वका सञ्चारमाध्यमले भनेझैँ यो एक ऐतिहासिक भेटवार्ता भएको बताउँदै चीन र अमेरिकाका राष्ट्रप्रमुखहरूले ‘चीन-अमेरिका रचनात्मक रणनीतिक स्थिर सम्बन्ध’ लाई दुई देशको सम्बन्धको नयाँ प्रारुपका रूपमा लिन सहमत भएको र यसले आगामी तीन वर्ष वा अझ लामो समयका लागि चीन-अमेरिका सम्बन्धको रणनीतिक मार्गनिर्देशन गर्ने औँल्याए।
मन्त्री वाङले मे १५ तारिख सञ्चारमाध्यमलाई यसको अर्थबारे प्रकाश पार्दै भने, ‘स्थिर सहयोग, सीमाभित्र प्रतिस्पर्धा, नियन्त्रण योग्य मतभेद, दीर्घकालीन शान्ति।’
यसरी चीनले जिम्मेवार ठूलो शक्ति भएको र उच्चस्तरको संवादमार्फत भिन्नतालाई व्यवस्थापन गरी सम्बन्ध स्थिर राख्न प्रतिबद्ध भएको देखाउनुका साथै द्विपक्षीय सम्बन्धलाई अझ बिग्रन वा ‘नियन्त्रण बाहिर’ जानेबाट रोक्ने लक्ष्य राखेको देखियो।
यसलगत्तै मे १९ देखि २० सम्म रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको राजकीय भ्रमण गरेका थिए। उनलाई परराष्ट्रमन्त्री वाङ यीले विमानस्थलमा स्वागत गरे। संयोग कस्तो भने अमेरिकी राष्ट्रपति ट्रम्पलाई उनले विदाइ गरेका थिए। ट्रम्पको स्वागत उपराष्ट्रपति हान चङले गरेका थिए।
अब अर्का शक्तिशाली नेताको भ्रमणको चर्चा। यो रूसी राष्ट्रपति पुटिनको भ्रमण हो। उनको प्रतिनिधि टोलीको स्तर ‘भव्य’ थियो, जसमा पाँच उपप्रधानमन्त्री, आठ मन्त्री र रसिया पेट्रोलियम र प्राकृतिक ग्यास कम्पनीका उच्च अधिकारीहरू थिए। भ्रमणको अघिल्लो दिन, पुटिनले कूटनीतिक परम्परा तोडी पहिलोपटक भिडियोमार्फत सम्बोधन गर्दै चिनियाँ मित्रहरूलाई सम्मान जनाउँदै दुई देशको सम्बन्धमा महत्त्व देखाएका थिए।
यस वर्ष चीन रूस रणनीतिक समन्वय साझेदारी स्थापनाको ३० औँ वार्षिकोत्सव र चीन र रूसबीच असल छिमेकीपन र मैत्रीपूर्ण सहयोग सन्धिमा हस्ताक्षर भएको २५ औँ वार्षिकोत्सव पनि हो।
राष्ट्रपति सीले २५ वर्षअघि चीन र रूसले सद्भावपूर्ण छिमेकी र सहयोगात्मक सन्धिमा हस्ताक्षर गरेको र यसले दीर्घकालीन सद्भावपूर्ण छिमेकी सम्बन्ध र व्यापक रणनीतिक सहकार्यको आधारशिला कानुनी रूपमा स्थापित गरेको तथा चीन रूस सम्बन्धले उडान भरी विकास गरेको उल्लेख गरे। उनले हालको अन्तर्राष्ट्रिय परिस्थितिमा ठुलो परिवर्तन भइरहेको र विश्व ‘जंगलको नियम’ मा फर्किने जोखिमको सामना गरिरहेको भन्दै यस सन्दर्भमा ‘चीन रूस सद्भावपूर्ण छिमेकी र सहयोगात्मक सन्धि’ को अग्रगामी, वैज्ञानिकता र व्यावहारिक मूल्य अझ स्पष्ट भएको औँल्याए। ‘चीन सन्धिलाई निरन्तरता दिन समर्थन गर्दछ र रुससहित सन्धिको मर्मअनुसार दृढतापूर्वक अगाडि बढ्दै मिलेर सहकार्यको रणनीतिक समन्वयलाई अगाडि बढाउनेछ,’ सीले भने।
यस भ्रमणले धेरै उपलब्धि हासिल गरेको छ, ४२ वटा सहकार्य दस्तावेजमा सहमति भयो, जसमा आर्थिक व्यापार, ऊर्जा, पूर्वाधार, प्रविधि, मानवीयलगायतका क्षेत्र समेटिएका छन्। दुवै देशका राष्ट्रप्रमुखहरूले चीन रूस छिमेक मैत्रीपूर्ण सहकार्य सन्धिलाई निरन्तरता दिने सहमति जनाए र दुईवटा महत्त्वपूर्ण संयुक्त घोषणापत्रमा हस्ताक्षर गरे, जसले समग्र रणनीतिक सहकार्य अझ गहिरो बनाउने र विश्व बहुध्रुवीकरणको समर्थन गर्ने महत्त्वपूर्ण सहमति देखाउँछ।

चिनियाँ पक्षले चीन रूस सम्बन्ध नयाँ युगको समग्र रणनीतिक साझेदारीको ऐतिहासिक उच्चतम स्तरमा पुगेको जनाए। यसैगरी पुटिनले चीनसँग मिलेर दुई देशको सम्बन्धलाई ‘अझ उच्चस्तरमा’ पुर्याउन इच्छुक रहेको बताए।
दुवै देशले शान्ति, विकास, सहकार्य, पारस्परिक लाभको प्रवृत्तिलाई पछ्याउन जोड दिए साथै उच्च गुणस्तरीय राजनीतिक विश्वासलाई बलियो बनाउने र रणनीतिक समर्थन दृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
यसरी चीनले दुइटै भेटमा अझ न्यायपूर्ण र समुचित विश्व सुशासन प्रणाली निर्माण गर्नुपर्छ भन्ने कुरा उल्लेख गरेको छ। चीनले शान्तिपूर्ण विकासलाई रणनीतिक प्राथमिकता बनाएको छ साथै परम्परागत ठुला देशहरूको मार्गभन्दा फरक शान्तिपूर्ण विकासको बाटो खोज्दै आएको छ। यसबाहेक एकपक्षीयता र संरक्षणवादको पृष्ठभूमिमा चीनको कूटनीतिक गतिविधिले साँच्चिकै बहुपक्षीयताप्रति प्रतिबद्धता देखाएको छ।
जिम्मेवार ठुलो देशको रूपमा चीन सधैँ विश्व दृष्टिकोणबाट मानवजातिको भविष्य र भाग्यमा ध्यान केन्द्रित गर्दैआएको छ र अस्थिर परिस्थितिमा स्थिरता ल्याउन प्रयासरत छ। चीनले परम्परागत पश्चिमा शक्तिदेखि छिमेकी राष्ट्रहरू र उदाउँदो अर्थतन्त्रदेखि ग्लोबल साउथका देशहरूसम्म सबै देशहरूका लागि वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा अमूल्य विश्वास र सकारात्मक ऊर्जा प्रदान गरेको छ।
यसर्थ बेइजिङ विश्वव्यापी ‘संवाद पुल’ को रूपमा रहेको छ र हरेक दिनजसो रातो कार्पेट ओछ्याइरहेको छ। यस वर्षको आरम्भमा, बेलायती प्रधानमन्त्री केयर स्टार्मरले एक ठूलो व्यापार प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आठ वर्षको अन्तरालपछि चीनको भ्रमण गरेका थिए।
त्यसलगत्तै जर्मनीका नयाँ चान्सलर फ्रिडरिक मर्जले चीन भ्रमण गर्दै चीन जर्मनी सम्बन्धलाई बलियो बनाउने काम गरे। त्यसपछि स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले चीन भ्रमण गरे। उनले चार वर्षमा चौथोपटक चीन भ्रमण गरे। यी भ्रमणहरूले जटिल अन्तर्राष्ट्रिय परिस्थितिको यो अवस्थामा युरोपेली शक्तिहरू पनि चीनसँगको सहकार्य गहिरो बनाउन इच्छुक रहेको बुझाउँछ।
यसरी बेइजिङले कूटनीतिक प्रयासमार्फत विश्वलाई संवाद, सहयोग, र शान्तिपूर्ण सहअस्तित्व अगाडि बढ्ने मार्ग हुन् भन्ने सन्देश दिएको छ। चीनले सधैँ उच्च गुणस्तरीय खुलापन र सहकार्यमार्फत साझा विकास हासिल गर्न जोड दिएको छ। चीनको दृष्टिकोण भनेको विकासलाई प्राथमिकता र शान्ति मूल्यवान् छ भन्ने नै हो। जब विश्वले ‘कसरी विकास गर्ने’ र ‘कसरी शान्ति र स्थिरता सुनिश्चित गर्ने’ भन्ने मूल प्रश्नहरूको सामना गर्छ तब चीनले विश्वसनीय र आशाजनक उत्तर प्रदान गर्ने गर्दछ।
मे १४ तारिख चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङ जनबृहत् सभाभवनमा चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेट-वार्तामा भनेका कुराको साथ यो आलेख टुङ्ग्याउन चाहेँ।
‘वर्तमानमा शताब्दीभरिको परिवर्तन तीव्र रूपमा अगाडि बढिरहेको छ, अन्तर्राष्ट्रिय परिस्थितिमा उथलपुथलहरू सँगसँगै देखा परिरहेका छन्। संसार फेरि नयाँ चौबाटोमा आइपुगेको छ। के अमेरिका र चीनले ठूला राष्ट्रहरूको सम्बन्धको नयाँ ढाँचा सिर्जना गर्न सक्छन्? के उनीहरूले वैश्विक चुनौतीहरूको सामना गर्न सँगसँगै काम गर्न सक्छन्? विश्वलाई थप स्थिरता प्रदान गर्न सक्छन्? के उनीहरूले दुई देशका जनताको कल्याण र मानवताको भविष्यलाई ध्यानमा राखी दुई देशको सम्बन्धको उज्यालो साझा भविष्य सिर्जना गर्न सक्छन्? यी प्रश्नहरू ऐतिहासिक प्रश्नहरू हुन्, विश्वव्यापी प्रश्नहरू हुन्, जनताका प्रश्नहरू हुन्, ठूला राष्ट्रहरूका नेताहरूले साझा रूपमा लेख्नुपर्ने युगको उत्तरपत्र पनि हुन्।’





