भैरहवा- बर्सौंदेखि पहिरो र चट्टान खस्ने जोखिमका कारण त्रासको यात्रा बन्ने गरेको सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र अब सुरक्षित यात्रातर्फ अघि बढिरहेको छ। निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाले भौतिकतर्फ ६८ प्रतिशत प्रगति हासिल गर्दै आगामी सेप्टेम्बरसम्म सुरुङमार्गबाट सवारी सञ्चालन गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ ।
सिद्धार्थ राजमार्गमा निर्माणाधीण सुरुङमार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको हो। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार हालसम्म वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ। पाँचबर्से निर्माण अवधि तय गरिएको आयोजनामा इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमार्फत काम भइरहेको छ । जस अन्तर्गत डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीलाई दिइएको छ।
पौडेलका अनुसार आगामी सेप्टेम्बर अर्थात् असोजदेखि सुरुङमार्ग भएर सवारी सञ्चालन गर्ने तयारी छ। सुरुङ सञ्चालनमा आएपछि पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मेवारी वहन गर्ने छ । त्यसपछि थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) लागु हुने छ।
सिद्धबाबा क्षेत्रमा हरेक वर्ष बर्खायाममा पहिरो खस्ने, सडक अवरुद्ध हुने र मानवीय क्षति हुने समस्या दोहोरिँदै आएको छ । यही जोखिम न्यूनीकरणलाई केन्द्रमा राखेर सुरुङमार्ग निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यो परियोजनाको मुख्य उद्देश्य दुरी छोट्याउनुभन्दा पनि यात्रुलाई सुरक्षित विकल्प उपलब्ध गराउनु हो।
आयोजनाको प्रारम्भिक चरणमा भने कानुनी र प्राविधिक जटिलताले काम प्रभावित भएको थियो । नेपालमा पहिलो पटक प्रयोग गरिएको ईपिसी मोडलका कारण डकुमेन्टेसनमा समस्या देखिएको थियो भने रुख कटान अनुमति, बजेट व्यवस्थापनलगायतका काममा ढिलाइ हुँदा निर्माणले अपेक्षित गति लिन सकेको थिएन । अहिले ती अधिकांश समस्या समाधानउन्मुख रहेको आयोजनाले जनाएको छ ।
सुरुङसँगै सडक निर्माणको काम पनि अघि बढाइएको छ । सुरुङ सञ्चालनपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा सुरक्षित संरचना र भिर संरक्षणका काम गरिने छन्। पैदलयात्रुका लागि सुरक्षित संरचनाभित्र बाटो पनि बनाइने र बाहिरी भागमा खानेपानी व्यवस्थापनसमेत गरिने योजना छ ।
सुरुवाती अनुमान अनुसार करिब १० अर्ब रुपियाँ लागत लाग्ने भनिएको आयोजना प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब सात अर्ब रुपियाँमा सम्झौता गरिएको थियो । आयोजना सम्पन्न भएपछि बुटवल–पाल्पा सडकखण्डको यात्रा अझ सुरक्षित र भरपर्दो बन्ने अपेक्षा गरिएको छ ।




