रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशन तयारी कार्यतालिका

हिमाल प्रेस १० जेठ २०८३ १५:४४ | Sunday, May 24, 2026
8
SHARES
रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशन तयारी कार्यतालिका

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले प्रदेश तथा जिल्ला समितिका सभापतिहरूलाई पत्राचार गर्दै महाधिवेशन तयारीका कामहरू निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएको हो।

केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा हस्ताक्षरित पत्रअनुसार आयोगको गत वैशाख ६ गतेको निर्णयबमोजिम महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरिएको जनाएको छ।

कार्यतालिकाअनुसार निर्वाचन समिति गठन, अधिवेशनसम्बन्धी प्रतिवेदन संकलन तथा महाधिवेशन प्रतिनिधिको नामावली पेसलगायतका कामहरू तोकिएको समयसीमाभित्र सम्पन्न गरिनेछ।

सार्वजनिक कार्यतालिकाअनुसार ७७ वटै जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठनको कार्य जेठ ७ गतेदेखि सुरु भई जेठ १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ। आधिकारिक परिपत्र तथा म्यानुअलको प्रतिलिपि पठाउने कार्य जेठ १० गतेसम्म सक्ने लक्ष्य राखिएको छ।

स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदन संकलनको काम जेठ २० गतेसम्म र जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस गर्ने कार्य जेठ ३० गतेसम्म पूरा गर्नुपर्ने उल्लेख छ।

महाधिवेशन प्रतिनिधिहरूको नामावली पेस गर्ने कार्य जेठ २५ गतेसम्म तथा प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण पेस गर्ने कार्य असार ५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ।

कार्यतालिकामा इलेक्ट्रोनिक भोटिङ मेसिन सम्बन्धी छलफल पनि समावेश गरिएको छ। उक्त छलफल असार ५ गतेसम्म आयोजना गरिने जनाइएको छ।

सबै प्रदेश समितिका सभापतिहरूलाई आफ्नो प्रदेशअन्तर्गतका जिल्ला समितिसँग आवश्यक समन्वय गरी कार्यतालिकाअनुसार काम सम्पन्न गर्न सहयोग र सहकार्य गर्न अनुरोध गरिएको छ।

प्रकाशित: १० जेठ २०८३ १५:४४ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast