काठमाडौँ– पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ चारदिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। इरान युद्ध अस्थायी रूपमा रोकिएको बेला उनी चीन भ्रमणमा गएका हुन्।
भ्रमणका क्रममा सरिफले चिनियाँ उच्च अधिकारीसँग भेट्ने कार्यक्रम तय भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि भेटका क्रममा पश्चिम एसिया द्वन्द्वबारे छलफल हुने वा नहुने भन्ने विषयमा चिनियाँ विदेश मन्त्रालयले प्रस्ट पारेका छैन।
इस्लामाबाद र बेइजिङ दुवैले पश्चिम एसिया तनाव अन्त्यका लागि मध्यस्थता गर्न खोजेका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्ता रोकिएको बताएका छन्।
फेब्रुअरीमा इरानमाथि अमेरिका–इजरायल आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासस्वरूप पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ देखि दुई हप्ताका लागि युद्धविरामको घोषणा गरिएको थियो।
युद्धले मध्यपूर्वलाई संकटग्रस्त बनाएको छ भने विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ।
यसै साताको सुरुमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले ‘साझा चासोका विषयहरू’ मात्र छलफल हुने बताएका थिए। – रासस




