इजरायलको ७८औँ स्वतन्त्रता दिवस : नेपाल-इजरायल सम्बन्ध थप मजबुत बनाउने प्रतिबद्धता

हिमाल प्रेस ७ जेठ २०८३ ११:०१ | Thursday, May 21, 2026
10
SHARES
इजरायलको ७८औँ स्वतन्त्रता दिवस : नेपाल-इजरायल सम्बन्ध थप मजबुत बनाउने प्रतिबद्धता

काठमाडौँ- नेपालस्थित इजरायल दूतावासले इजरायल राष्ट्रको ७८औँ स्वतन्त्रता दिवस विशेष समारोहका साथ मनाएको छ। कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी तथा इजरायलका शुभेच्छुकहरूको सहभागिता रहेको थियो। समारोहका प्रमुख अतिथि नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव थिए।

समारोहलाई सम्बोधन गर्दै नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले यो अवसर इजरायलको राष्ट्रिय यात्राको मात्र नभई नेपाल इजरायलबीचको मित्रता, साझेदारी र साझा आकांक्षाको उत्सवसमेत भएको बताए।

इजरायलले स्थापना कालदेखि नै सीमित स्रोतसाधनलाई नवप्रवर्तनमा रूपान्तरण गर्दै आएको बताउँदै उनले शिक्षा, प्रविधि, कृषि, जल व्यवस्थापन र उद्यमशीलतामा हासिल गरेको अनुभव नेपालसँग साझेदारी गर्न इजरायल तयार रहेको भनाइ राखे।

नेपालको आर्थिक वृद्धि, रोजगारी सिर्जना, डिजिटल विकास, कृषि आधुनिकीकरण तथा युवाका अवसर विस्तारका प्राथमिकतामा इजरायली अनुभव उपयोगी हुन सक्ने उनको भनाइ थियो।

समारोहमा प्रसिद्ध इजरायली संगीतकर्मी एलेक्स पोलाकको सांगीतिक प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट निर्माण गरिएको भिडियोमार्फत इजरायलका नवप्रवर्तन र विश्वलाई पुर्‍याएको योगदान प्रस्तुत गरिएको थियो।

भिडियोमा भाइबर, यूएसबी फ्ल्यास ड्राइभ (पेन ड्राइभ), ड्रिप सिँचाइ प्रणाली, वेज, विश्वकै पहिलो इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म आईसीक्यू, फाइभर, समुद्री पानी प्रशोधन (डिसालिनेसन) प्रविधि, रिवाक पहिरनयोग्य रोबोटिक्स, पिल क्याम, चेक प्वाइन्ट, मल्टिपल स्क्लेरोसिससम्बन्धी अनुसन्धान तथा हालै ३२ अर्ब अमेरिकी डलरमा बिक्री भएको क्लाउड सुरक्षा कम्पनी ‘विज’ लगायतका नवप्रवर्तन समेटिएका थिए।

यस्तै, माशाभ तालिम कार्यक्रम, हेरचाह (केयरगिभिङ) क्षेत्र तथा ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरायलसँग जोडिएर जीवन र करियरमा सकारात्मक परिवर्तन ल्याएका तीन नेपाली नागरिकका प्रेरणादायी अनुभव समेटिएको भिडियो पनि प्रदर्शन गरिएको थियो।

उक्त भिडियोले नेपालमा मानव स्रोत विकास तथा क्षमता अभिवृद्धिमा इजरायलको निरन्तर सहयोगलाई उजागर गरेको दूतावासले जनाएको छ।

कार्यक्रममा इजरायलले विभिन्न चुनौतीबीच प्रदर्शन गरेको एकता, दृढता र सहनशीलतालाई चित्रण गर्ने अर्को भिडियोसमेत प्रदर्शन गरिएको थियो।

कार्यक्रममा नेपाल र इजरायलबीचको दीर्घकालीन मित्रता, सहकार्य तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको दूतावासले जनाएको छ।

प्रकाशित: ७ जेठ २०८३ ११:०१ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast