कांग्रेसको नीति प्रतिष्ठानमा १२ उपसमिति गठन, ककसले पाए जिम्मेवारी?

हिमाल प्रेस ४ जेठ २०८३ १४:०३ | Monday, May 18, 2026
2
SHARE
कांग्रेसको नीति प्रतिष्ठानमा १२ उपसमिति गठन, ककसले पाए जिम्मेवारी? कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न नीतिगत तथा समसामयिक विषयमा अध्ययन, संवाद र अभियान सञ्चालन गर्न १२ वटा उपसमिति गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आइतबार बसेको प्रतिष्ठानको बैठकले विभिन्न विषयगत उपसमितिको संयोजक तोकेको हो। बैठक प्रतिष्ठान प्रमुख तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको थियो।

बैठकले भूमि व्यवस्था विशेष अभियान उपसमितिको संयोजकमा डा. गोपाल दहितलाई जिम्मेवारी दिएको छ। उक्त उपसमितिलाई सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका विषयमा साझा दृष्टिकोण तयार गर्ने जिम्मवारी दिइएको छ।

त्यस्तै विपद् व्यवस्थापन उपसमितिको संयोजकमा मानबहादुर थापा, मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिमा मोहना अन्सारी तथा सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिमा इन्जिनियर दीपेश विष्टलाई जिम्मेवारी दिइएको छ।

निर्वाचन प्रणाली सुधारसम्बन्धी अवधारणा, संवाद र समन्वय उपसमितिको संयोजक जनक चटौत तोकिएका छन् भने पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमितिको संयोजन इन्जिनियर अमृत ज्ञवालीले गर्नेछन्। उक्त उपसमितिले पुँजीगत बजेट खर्च प्रणाली सुधार र पूर्वाधार निर्माणको गति बढाउन आवश्यक नीति तथा योजना तर्जुमामा कांग्रेसको धारणा तयार गर्ने जनाइएको छ।

उद्यमशीलता, नवप्रवर्तन तथा रोजगार उपसमितिको संयोजकमा खगेन्द्र आचार्य, शिक्षा तथा शिक्षालय नीति एवं दृष्टि उपसमितिमा डा. कृष्णप्रसाद पौडेल तथा बीपी ज्ञान केन्द्र उपसमितिमा प्रकाश लामिछानेलाई जिम्मेवारी दिइएको छ। बीपी ज्ञान केन्द्र उपसमितिले आगलागीमा क्षति पुगेको केन्द्रीय पुस्तकालयलाई पुनः व्यवस्थापन गरी ‘बीपी विचार स्कुल’का रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

यसैगरी जातीय विभेदविरुद्ध सचेतना अभियान उपसमितिको संयोजक एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमितिको संयोजक प्रकृति भट्टराई तथा ‘ग्रिन टेबल’ उपसमितिको संयोजक कञ्चन झा तोकिएका छन्। ग्रिन टेबल उपसमितिले प्रस्तावित नीतिगत तथा समसामयिक विषयमा केन्द्रीय कार्यालयमा नियमित अन्तरसंवाद सञ्चालन गर्ने जनाइएको छ।

बैठकले सबै उपसमितिलाई आगामी बैठकमा प्रारम्भिक कार्यखाका प्रस्तुत गर्न निर्देशन दिएको छ। साथै प्रतिष्ठानको आन्तरिक आचारसंहिता निर्माण गरी आगामी बैठकमा प्रस्ताव पेस गर्न उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast