लमजुङ- हरियाली डाँडाकाँडा, ढुंगाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ।
सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइमा अवस्थित छ । गुरुङ समुदायको बाक्लो बसोबास रहेको यो गाउँ परम्परागत संस्कृति, मौलिक जीवनशैली र आत्मीय आतिथ्यका कारण लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ ।
कच्ची सडक पार गर्दै जिपमार्फत गाउँ पुग्दा बाटोभरि देखिने हरिया पहाड, खोल्साखोल्सी र ग्रामीण जीवनशैलीले जो–कोही यात्रुलाई मोहित गराउँछ । गाउँ छिर्नासाथ ढुङ्गाले छाएका घर, आँगनकै छेवैमा सुकाइएका मकैका झुत्ता, फूलबारी र परम्परागत पहिरनमा देखिने स्थानीयले आगन्तुकलाई स्वागत गरिरहेका भेटिन्छन्। क्व्होलासोथार गाउँपालिका उपप्रमुख यमिमाया गुरुङका अनुसार भुजुङमा हाल ३६२ घरधुरी छन् भने ३३ घरमा होमस्टे सञ्चालनमा छन् । ‘भुजुङ पर्यटकको रोजाइमा पर्न थालेको छ’, उनले भनिन्, ‘विशेषगरी गुरुङ संस्कृति, मौलिक परिकार र प्राकृतिक जीवनशैली अनुभव गर्न आउने पर्यटकको सङ्ख्या बढिरहेको छ ।’
गुरुङका अनुसार घरबास कार्यक्रमले गाउँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । घरबास (होमस्टे)बाट प्रत्यक्ष लाभ लिने घरधुरी मात्रै होइन, छिमेकीसमेत कृषि उत्पादन, स्थानीय परिकार, हस्तकला तथा अन्य सेवामार्फत लाभान्वित भइरहेका छन् ।
गाउँमा अधिकांश खाद्यान्न अर्गानिक उत्पादन हुने गरेको छ । खेतबारी घर नजिकै रहेकाले होमस्टेमा बस्ने पाहुनालाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार पस्किने गरिएको छ । स्थानीयको मुख्य पेसा कृषि र वैदेशिक रोजगारी भए पनि पछिल्ला वर्षमा पर्यटन व्यवसाय आयआर्जनको महत्वपूर्ण आधार बन्दै गएको उपप्रमुख गुरुङले बताइन् । गाउँपालिकाले भुजुङको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास, जनचेतना तथा स्थानीयको क्षमता अभिवृद्धिमा सहकार्य गरिरहेको उनको भनाइ छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि भुजुङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग गर्दै आएको स्थानीय बताउँछन् । सरसफाइ अभियान, पर्यावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रममार्फत गाउँलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीका अनुसार आयोजनाले यस क्षेत्रको जैविक विविधता संरक्षणसँगै स्थानीयको जीविकोपार्जन सुधारका लागि काम गर्दै आएको छ । ‘पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउने प्रयास भइरहेको छ’, उहाँले भन्नुभयो । आयोजनाले लघुजलविद्युत् सञ्चालन, चियाबारी व्यवस्थापन तथा सरसफाइ अभियानमा स्थानीयलाई सहयोग गर्दै आएको छ । ‘गाउँलेसँग हातेमालो गरेर वातावरण संरक्षण र पर्यटन विकासमा सँगसँगै काम गरिरहेका छौँ’, रेग्मीले भने ।
स्थानीयवासी गाउँ छाडेर बाहिर बसाइँ सर्नेक्रम अन्यत्रभन्दा कम रहेको पनि यहाँको विशेषता हो । गाउँमै कृषि, पर्यटन र अन्य साना व्यवसायबाट आयआर्जनको अवसर बढ्दै गएपछि अधिकांश स्थानीय आफ्नै ठाउँमा सक्रिय देखिन्छन । भुजुङका होमस्टे सञ्चालक हुमकुमारी गुरुङले पाहुनालाई गाउँकै उत्पादनबाट तयार गरिएका परिकार खुवाउने गरिएको बताइन् । ‘ढिँडो, कोदोको रोटी, लोकल कुखुरा, माछा, खसी, गाउँकै सागपात, निगुरो र अचार पाहुनाले मन पराउनुहुन्छ’, उनी थप्छिन्, ‘स्थानीय स्वाद र आत्मीय व्यवहारकै कारण धेरै पाहुना फेरिफेरि आउनुहुन्छ ।’
भुजुङ केबल प्राकृतिक सौन्दर्यका कारण मात्र चर्चित छैन, यो गाउँ गुरुङ संस्कृतिको जीवित सङ्ग्रहालयका रूपमा पनि परिचित छ । यहाँ स्थानीय लोपोन्मुख सांस्कृतिक नृत्य अझै जोगाइएका छन् । विशेष अवसर र पर्यटकीय मौसममा स्थानीय युवा तथा अग्रज मिलेर सांस्कृतिक प्रस्तुति देखाउने गर्छन् । स्थानीय लालीगुराँस युवा क्लबका अध्यक्ष नौराजगुरुङका अनुसार असोजदेखि मङ्सिरसम्म र चैत–वैशाखमा पर्यटकको चाप बढी हुन्छ । ‘सिजनमा घरबास भरिभराउ हुन्छ’, गुरुङ भन्छन्, ‘विदेशीभन्दा आन्तरिक पर्यटक अहिले बढी आउन थालेका छन ।’
भुजुङ पुगेका पर्यटकलाई गाउँको शान्त वातावरण, गुरुङ संस्कृति र आतिथ्यले आकर्षित गर्ने गरेको छ । काठमाडौँबाट घुम्न आएका सरस्वती गोतामेले गाउँमा पुग्दा आफूले पुरानो नेपाली जीवनशैली नजिकबाट अनुभव गर्न पाएको अनुभव सुनाइन्।
‘यहाँको वातावरण निकै शान्त र स्वच्छ छ, सहरको भीडभाडबाट टाढा केही दिन बस्नका लागि भुजुङ उत्कृष्ट गन्तव्य रहेछ’, उनले थपिन् । व्यवस्थित सडक हुने हो भने यहाँ पर्यटकको चाप बढ्ने उनको धारणा छ ।
गाउँमा कृषिकर्म पनि चलिरहेको छ । गाउँमा प्रायः सबै मानिस व्यस्त रहेन गरेका छन् । कोही खेतबारीमा गोडमेल गर्दै गरेका त कोही हस्तकलाका सामग्री बुन्ने काममा समेत व्यस्त देखिन्छन् । बाँस, निगालो र ऊनबाट बनाइने सामग्रीले गाउँको मौलिकता झल्काउँछ । गाउँमा पर्यटन प्रवद्र्धनसँगै सडक, सञ्चार र खानेपानीजस्ता पूर्वाधार विस्तार हुँदै गए पनि स्थानीयले मौलिकता जोगाउन प्रयास भने गरेका छन् ।
प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिको जीवन्त अभ्यास, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण भुजुङ अहिले लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । सहरको कोलाहलबाट केही समय टाढा रहेर गाउँको मौलिक जीवन अनुभव गर्न चाहनेका लागि भुजुङ आकर्षक रोजाइ बनेको छ ।




