काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवलशमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
उनले समितिलाई आगामी कार्यसमितिको बैठकमा पेस गर्ने गरी महाधिवेशन कार्यतालिका बनाउने जिम्मेवारी दिइएको बताए।
यसैगरी बैठकले आगामी महाधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र हालै सम्पन्न निर्वाचनको समिक्षाका लागि जेठ २८ र २९ गते काठमाडौँमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको अध्यक्ष लिङ्देनले बताए।
बैठकमा सातैवटा प्रदेशको समिक्षा बैठकबाट आएका सुझाव सचिवालय महामन्त्री राजेन्द्र गुरुङले प्रस्तुत गरेको र त्यसमाथि पनि छलफल भएको उनले जानकारी दिए।
उनले राप्रपा महाधिवेशनतर्फ उन्मुख भएको भन्दै निर्वाचनका कारण स्थगन गरिएका स्थानीय र जिल्ला अधिवेशनलाई निरन्तरता दिने निर्णय भएको बताए।




