हरियालीले चम्किँदै नेपालगन्ज, बदलिँदै सहरको स्वरूप

हिमाल प्रेस १ जेठ २०८३ १२:३८ | Friday, May 15, 2026
8
SHARES
हरियालीले चम्किँदै नेपालगन्ज, बदलिँदै सहरको स्वरूप

नेपालगन्ज- पछिल्ला वर्षमा नेपालगन्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ। फराकिला सडक, सडक किनारमा रोपिएका विभिन्न जातका बोटबिरुवाले हरियाली प्रवर्द्धनसँगै सहरको सौन्दर्य बढाएका छन्।

साँघुरा र धुलाम्मे सडक कालोपत्र गरिएका छन् हरियालीले नगरको शोभा बढाएको छ। रातानीला गुलमोहर र बेगमबेलीले नेपालगन्जको सौन्दर्य चम्काएको छ। ‘क्लिीन नेपालगन्ज, ग्रीन नेपालगन्ज’ का अध्यक्ष विनोद कर्ण पूर्वाधार विकाससँगै हरियाली थपिएकामा दंग छन्।

हरियाली विस्तार अझै आवश्यक भएको उनी बताउँछन्। सुर्खेतरोड, न्यूरोड, भानुचोक र गणेशमान चोकलगायत क्षेत्रमा लगाइएका गुलमोहर तथा बेगमबेलीले नगरको चमकमात्र बढाएका छैनन् अपितु यिनले पानीका स्रोत जोगाउनका साथै पर्यावरणीय सन्तुलन कायम गर्न सघाएका छन्।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट अत्यधिक गर्मीका लागि परिचित नेपालगन्जमा हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन भइरहेको बताउँछन्।

‘हामीले ‘हिट वेभ’ व्यवस्थापनका लागि कार्ययोजना बनाएर काम गरिरहेका छौँ। यसका साथै हरियाली प्रवर्द्धनका कार्यक्रमलाई पनि निरन्तरता दिएका छौँ’,उनले भने। यहाँ घर निर्माण गर्दा अनिवार्य रूपमा बिरुवा रोप्नुपर्ने नीति लागू गरिएको छ।

नगरको हरियालीले जलवायु परिवर्तनका असर घटाउनका साथै अक्सिजन उत्पादन तथा प्रदूषण नियन्त्रणमा टेवा पुग्ने भएकाले उपमहानगरपालिकाले पार्क व्यवस्थापनलाई जोड दिएको छ। हालसम्म शीतलचिनीका करिब १५ हजार तथा राक्षवृक्ष, नीमलगायतका करिब तीन हजार बिरुवा रोपिएका छन्।

हरित अभियन्ता हेमन्तराज काफ्लेले विगतमा नेपालगन्जमा अव्यवस्थित रूपमा रहेका रुख तथा बिरुवाको स्थान अहिले व्यवस्थित हरियालीले लिएको बताउँछन्। मासिएका आँपका बगैँचा र तालतलैयाको परिपूर्ति यहाँका बोटबिरुवाले गरेका उनको ठम्म्याइ छ।

तत्कालीन ब्रिटिश इण्डियाबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाएपछि प्रधानमन्त्री जंगबहादुर राणाले लखनउस्थित हजरतगन्जको नमुनाका रूपमा नेपालगन्ज बसाएको अभिलेख पाइन्छ। उनले सुब्बा सिद्धिमान राजभण्डारीलाई बस्ती बसाउन खटाएपछि हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ १०८ फिट चौडा सडकको दायाँ बायाँ घर निर्माण गरिएको अभिलेखमा छ।

अहिलेको त्रिभुवन चोकलाई सुरुमा ‘चोकबजार’ भनिन्थ्यो। यही चोकबाट पूर्व पश्चिम लाइन, इदगाह रोडलगायत क्षेत्रमा पसलकबलसहितका घर निर्माण गरेर नेपालगन्ज सहर विस्तार गरिएको हो। यहाँको त्रिभुवन चोक नगरको मुख्य केन्द्रका रूपमा परिचित छ।

प्रकाशित: १ जेठ २०८३ १२:३८ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast