काठमाडौँ- बैंक तथा वित्तीय संस्थाहरूको प्रतिनिधित्व गर्ने चार प्रमुख संस्थाहरूले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेको गिरफ्तारीको विरोध गरेका छन्।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पाण्डेको गिरफ्तारीप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) ले स्मार्ट टेलिकमले बैंकमा धितो राखेको सम्पत्तिको लिलामी प्रक्रियाका सम्बन्धमा पाण्डेलाई बुधबार पक्राउ गरेको थियो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७४ को दफा ५७ लाई उद्धृत गर्दै ती संघहरूले बैंकहरूलाई धितो लिलामी मार्फत असुल नभएको ऋण असुल गर्ने कानुनी अधिकार भएको दाबी गरेका छन्। खराब कर्जा असुली गर्नु बैंक र यसका प्रमुख कार्यकारी दुवैको मुख्य जिम्मेवारी भएको समेत ती संस्थाको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कर्जा असुलीको काम गरेकोमा सीईओलाई पक्राउ गर्दा बैंकहरूमाथिको जनविश्वासमा आँच पुग्ने र संस्थागत स्थायित्वलाई कमजोर बनाउन सक्छ।’
संघहरूले बैंकिङ क्षेत्रको प्रतिष्ठा र सीईओ पदको गरिमालाई ध्यानमा राख्दै संवेदनशीलताका साथ कदम चाल्न अधिकारीहरूलाई आग्रह गरेका छन्।
विज्ञप्तिमा उल्लेख छ, ‘अनुसन्धान आवश्यक छ भने ‘पहिले सुन्ने, त्यसपछि थुन्ने’ सिद्धान्तअनुरूप हिरासतमा नराखी अनुसन्धान प्रक्रिया अगाडि बढाउन हामी अनुरोध गर्दछौँ।’



