‘विश्व बजारमा छाउँदै छ नेपाली फिल्म’

हिमाल प्रेस २६ वैशाख २०८३ १७:१४ | Saturday, May 9, 2026
18
SHARES
‘विश्व बजारमा छाउँदै छ नेपाली फिल्म’

पोखरा-  नेपाली सिनेमाले बिस्तारै विश्व बजारमा प्रतिनिधित्व जनाउँदै जाँदा यसले राम्रो संकेत दिएको पाइन्छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा चौथो संस्करणको सिनेमा संवादअन्तर्गत भएको छलफलका सहभागीले यस्तो धारणा व्यक्त गरेका हुन्।

कास्कीको माछापुच्छ्रे गाउँपालिका- ८ ल्वाङमा शनिबार पहिलो सेसनमा ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा अभिनेत्री बेनिसा हमाल र लेखक, निर्देशक एवं निर्माता सामीप्यराज तिमिल्सिनासँग सञ्चारकर्मी बिमला थापाले भलाकुसारी गरिन्।

संवादका क्रममा नेपाली सिनेमाको बजार बिस्तारै ग्लोबल मार्केटमा पुगिसकेको र यसको अब विकास र विस्तार आवश्यक रहेकोबारे चर्चा भयो। सहजकर्ता थापाले नेपाली फिल्म ग्लोबल मार्केटमा कहिले छिर्छ भन्ने जिज्ञासामा चलचित्र समीक्षकसमेत रहेका तिमिल्सिनाले भने, ‘ग्लोबल मार्केटमा हामीहरू छिरिसक्यौँ, अब कति हल्ला मच्चाउने भन्ने बाँकी छ।’

मीन भाम निर्देशित नेपाली फिल्म ‘शाम्बाला’ अघिल्लो वर्ष बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको इतिहासमै नयाँ कीर्तिमान कायम गर्न सफल भएको थियो। कान्स फिल्म फेस्टिभलमा समेत नेपालले सहभागिता जनाइसकेको छ। जबकि ठूलो उद्योग मानिएको भारतले समेत नेपालजस्तो एचिभ गर्न नसकेको तिमिल्सिनाको भनाइ थियो। उनले बाँकी धेरै उद्योगको तुलनामा नेपाली फिल्म उद्योग ग्लोबल मार्केटमा पुगेको चर्चा गरे।

उनका अनुसार ‘ऊनको स्वीटर’ ले अस्ट्रेलिया, न्युजिल्यान्ड, यूएईको मार्केटबाट मात्रै ६ करोडको व्यापार गरेको छ। ‘जेरी एन्ड  टप’ ले अस्ट्रेलियाबाट साढे ३ करोडको व्यापार गरेको छ। यी दुई फिल्मले भारतीय मार्केटमा पनि ३ करोडजति बिजनेस गरिसकेका छन्।

अभिनेत्री बेनिसा हमालले फिल्म करियरको सुरुआती समयमा विदेश घुम्दा वर्ल्ड सिनेमा कस्तो हुँदोरहेछ भन्ने बुझ्ने मौका मिलेको स्मरण गरिन्। १० वर्षअघि ‘कालोपोथी’ फिल्मको हिस्सा भएका कारण टोकियो र सिंगापुरमा भएका फिल्म फेस्टिभलमा जाँदा आफू एक्सपोज हुने मौका मिलेको पनि बताइन्। उनले भनिन्, ‘विगतमा धेरै कुरा थाहा थिइनँ। वर्ल्ड सिनेमा कस्तो हुन्छ भन्ने पनि थाहा थिएन। त्यहाँ नजिकबाट धेरै सिनेमा हेर्न पाइयो।’

अर्को प्रसंगमा नेपाली फिल्मको कथा बलियो छ भने पैसा नहुँदैमा खुम्चिनुपर्ने अवस्था नभएको वक्ताहरूले बताए। तिमिल्सिनाले भने, ‘कथा राम्रो भयो भने अहिले पैसा छैन भनेर खुम्चिएर बस्नुपर्ने छैन। पैसा हाल्नका लागि दुनिया तयार छ।’ पोखराको लामाचौरमा सुटिङ भएको उनको ‘एकमुठ्ठी बादल’को कलरको काम थाइल्यान्डमा भइरहेको छ। साउन्डको काम भारतमा भएको जनाए।

ग्लोबल मार्केटका लागि कुनै फेस्टिभलमा फिल्म छानियो भने त्यो फिल्म किन्न विदेशका वितरक इच्छुक हुन्छन्। ओटीटी राइट पनि किन्ने गरेको उनले सुनाए।

संवादका क्रममा नेपाली फिल्म ज्यादै प्रयोग भएको समय अहिले भएको बताइयो। तिमिल्सिनाले भने, ‘नेपाली फिल्म ज्यादै एक्सपेरिमेन्ट भएको समय नै अहिले हो। रोनाधोना मात्र खालका फिल्म छैनन्।’ उनका अनुसार गत वर्ष पाँच दर्जनजति फिल्म रिलिज भए। निकै रोचक खालका फिल्म पनि बने। तर तिनीहरूमध्ये केहीले बक्स अफिसमा त्यो स्तरमा प्रमाणित गर्न सकेनन्।

अभिनेत्री बेनिशाले पनि हामीसँग कथाको कमी नभएको उल्लेख गरिन्। नेटफ्लिक्स, ओटीटीमा समेत नेपाली फिल्म लैजान सरोकारवाला निकायले अझ पहल गर्नुपर्ने विषय संवादमा उठान भएको थियो।

प्रकाशित: २६ वैशाख २०८३ १७:१४ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast