फाइल तस्बिर
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। उनका अनुसार यो युद्धविराम मे ९ देखि ११ सम्म रहनेछ।
ट्रम्पले युद्धविराम अवधिमा दुई देशबिच हजार कैदी आदानप्रदान गरिने जानकारी पनि दिएका छन्। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु, रुस र युक्रेनबिच मे ९, १० र ११ तीन दिन युद्धविराम हुनेछ। रुसले विजय दिवस मनाउँदै छ र युक्रेनले पनि मनाउँदै छ, किनकि उनीहरू पनि दोस्रो विश्वयुद्धका हिस्सा हुन्।’
उनले अगाडि लेखेका छन्, ‘यस युद्धविराममा लडाइँका सबै गतिविधि रोक्ने र दुवै देशका हजार कैदी आदानप्रदान हुनेछ। मेरो अनुरोध स्वीकार गरेकामा म राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभारी छु।’
ट्रम्पले यो युद्धविराम लामो, घातक र कठिन युद्ध अन्त्यको सुरुवात हुने विश्वास पनि व्यक्त गवरेका छन्। उनले भनेका छन्, ‘यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो द्वन्द्व हो र यसलाई अन्त्य गर्न वार्ता जारी छ।’अर्कातर्फ अमेरिका र इरानबिच भने विवाद बढेको छ। दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन्।



